‘बर्थिङ सेन्टर’मा पहिलो बच्चा जन्माउने सुत्केरीलाई लोकल कुखुराको भाले र हर्लिक्स उपहार

गोपिन पोखरेल-

हल्दिबारी / जलथल स्वास्थ्य चौकीमा सञ्चालित प्रसुती गृह (बर्थिङ सेन्टर)मा पहिलो बच्चा जन्माउने सुत्केरी महिलालाई हल्दिबारी गाँउपालिकाले सोमबार कुखुराको भाले र पोसिलो खानेकुरा प्रदान गरेको छ ।

हल्दिबारी वडा नं ४ जलथलमा सञ्चालित (बर्थीङ सेन्टर)मा आएर पहिलो पटक बच्चा जन्माउने स्थानीय वडानं ५ की सुजता तामाङलाई प्रोत्साहन स्वरुप लोकल कुखुराको भाले, हर्लिक्स, ज्वानो, बच्चाले लगाउने कपडा, डाइपरलगायतका सामाग्री हस्तान्तरण गरिएको गाँउपालिका अध्यक्ष रविन्द्रप्रसाद लिङदेनले जानकारी दिए ।

तामाङले स्थानीय जलथल स्वास्थ्य चौकीमा आएर पहिलो बच्चाको रुपमा छोरी जन्माएकी थिइन् ।

प्रसुती गृहमा गएर बच्चा जन्माउने महिलालाई प्रोत्साहन स्वरुप जनप्रतिनिधीको हैसियतले स्वास्थ्यचौकी पुगेर सानो भएपनि सहयोग हस्तान्तरण गरिएको अध्यक्ष लिङदेनले बताए ।

प्रसुती गृहमा हल्दिबारी गाँउपालिका कार्यपालिका सदस्य एवम् प्रवक्ता सागर पोर्तेल, वडानं ४ का अध्यक्ष होम चुडाल, वडासदस्य केदार उप्रेती, जलथल स्वास्थ्यचौकी इन्चार्ज राम ढकाल, हेल्थपोष्ट कर्मचारी र स्वास्थ्य स्वयंसेवीकाहरुको उपस्थिति थियो ।

गाँउपालिकाले जलथल स्वास्थ्य चौकीमा करिब १ महिना अघि प्रसुती गृह बर्थिङ सेन्टर सञ्चालनमा ल्याएको थियो ।

गाँउपालिकाले हल्दिबारीको वडा नं १ गोलधापमा सञ्चालित स्वास्थ्य चौकीमा पनि निकट भविश्यमा ल्याब सञ्चालन गर्ने जनाएको छ ।

ल्याब सञ्चालनका लागि सामाग्री ल्याई सकेको र चाँडै स्वास्थ्य चौकीलाई हस्तान्तरण गर्ने योजना रहेको अध्यक्ष लिङदेनले जानकारी दिएका छन् ।