पत्रकार चन्द्र भण्डारी अन्तराष्ट्रिय भाषा सम्मानबाट पुरस्कृत

देशबाहिर समाचार साहित्य

भुपेन्द्र अधिकारी-

धुलाबारी/ अग्रज पत्रकार चन्द्र भण्डारी अन्तराष्ट्रिय भाषा सम्मान पुरस्कारबाट पुरस्कृत भएका छन् ।

भारतको सिलगढीमा “सिलगढी नन्दी तिवारी स्मृति प्रतिष्ठान” द्धारा आयोजित नन्दी तिवारी स्मृति पुरस्कार अलङकरण समारोहमा भण्डारी आइतबार पुरस्कृत भएका हुन् ।

उनलाई नेपाल र भारतको भाषा, साहित्य र संस्कृतिलाई अन्तराष्ट्रिय रुपमा एक आपसमा जोड्न साहित्य र पत्रकारिताको माध्यमबाट महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै सो प्रतिष्ठानले पुरस्कृति गरेको हो ।

भण्डारी केही दिन अघि मात्र “गोरखा मित्र साहित्यीक सम्मान” बाट भारतको कलकत्तामा सम्मानित भएका थिए । उनलाई गत पौष १ गते लैनसिंह बाङ्देल साहित्य कला प्रतिष्ठान कलकत्ताले सम्मान गरेको थियो ।

सिलगढीमा आइतबार सम्पन्न समारोहमा “नन्दी तिवारी स्मृति साहित्य पुरस्कार” बाट महाकवि मोहन दुखुन, “नन्दी तिवारी स्मति युवा साहित्य पुरस्कार” बाट सुमित्रा अविरल थामी र छिमेकी साहित्य बंगलाका विकास बन्द्योपाध्याय सम्मानित भएका थिए ।

त्यस्तै, नन्दी तिवारी शिक्षा पुरस्कारबाट प्रेरण प्रधान र येशु लामा सम्मानित भए । जेष्ठ नागरिक सम्मानबाट डा. जे.बी. मङ्ग्राती, एस. रविदास, बी.बी. थापा, अशोक राई, भुपाल निरौला, लक्ष्मण श्रीमल, पी.एल. प्रेन्टिस, पदमेश्वरी राई, शारदा क्षेत्री र रेशमाया लामालाई सम्मान गरिएको थियो ।

साहित्यकार, कवि, पत्रकार तथा भाषाविद्हरुको उल्लेख्य सहभागीता रहेको उक्त कार्यक्रममा प्रमुख अतिथि डा. जिवन नामदुङ, विषेश अतिथि चन्द्र भण्डारी, लोकनाथ उपाध्याय चापागाई, खेम सापकोटा, सुमित्रा अविरल थामी, विकास बन्द्योपाध्याय, रुद्र पौडेल मेघनाथ तिवारी लगायतले मन्तब्य राखेका थिए ।

डा. जिवन रानाको सभापतित्वमा सम्पन्न सम्मान समारोहमा सुष्मा मोक्तान गुरुङले संस्थाको बारेमा प्रकाश पारेकी थिइन् । युवराज काफ्लेले स्वागत गरेको कार्यक्रमको सञ्चालन प्रतिष्ठानका सचिव सुकराज दियालीले गरेका थिए ।