२०१८ सुस्थिर राजनीतिक उपलब्धिको वर्ष : प्रधानमन्त्री ओली

झापा  / प्रधानमन्त्री केपी शर्मा ओलीले इस्वी संवत २०१८ सुस्थिर राजनीतिक उपलब्धिको वर्षका रुपमा रहेको बताएका छन् ।

अंग्रेजी नयाँ वर्षको अवसरमा २०१८ को अन्तिम दिन सम्पूर्ण नेपालीलाई शुभकामना सन्देश दिंदै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

‘हामीबाट विदा भएको इ.सं. २०१८, नेपालको सुस्थिर राजनीतिक उपलब्धिको वर्षका रुपमा रह्यो’- प्रधानमन्त्रीले शुभकामना सन्देश जारी गर्दै भनेका छन्- ‘जननिर्मित नयाँ संविधान अनुसार निर्वाचनका माध्यमबाट तीनै तहका सरकार गठन भई वितेको वर्ष राजनीतिक संक्रमणकालको अन्त्य भयो ।’

प्रधानमन्त्रीले जारी गरेको शुभकामना सन्देश


प्रधानमन्त्री ओलीले संक्रमणकालीन संशयहरुलाई चिर्दै ‘समृद्ध नेपाल–सुखी नेपाली’को संकल्प सहित देश विकास र समृद्धिको महाअभियानमा अभिमूख भएको बताएका छन् ।

‘हाम्रा लागि वितेको वर्ष नयाँ संविधानको कार्यान्वयन गरी संक्रमणकालको अन्त्यवर्ष बनेको छ’- प्रधानमन्त्री ओलीले भने- ‘यसै बीचमा राजनीतिक संघर्ष र व्यवस्थापनको बहसबाट सिंगै समाज विकास र समृद्धिको बहसतर्फ केन्द्रित रहन सक्यो ।’

अव्यवस्था र अनिश्चयको वर्षाैं लामो अभ्यासबाट पछौटे अवस्थामा रहेको मुलुकलाई विकास र समृद्धिमा लैजानु अवश्य पनि सजिलो काम नभएको बताउँदै ओलीले मुलुक र जनताको दीर्घकालीन हितमा अगाडि बढाएका पाइला आगामी वर्षमा अझ दृढतापूर्वक उचाईमा पुग्ने विश्वास दिलाए ।

‘निर्वाचन मार्फत प्रकट जनचाहनालाई शीरमा राख्दै मैले पटक पटक संकल्प गरेको छु’–प्रधानमन्त्री ओलीले भने- ‘जनताका अपेक्षालाई कुनै पनि हालतमा विफल हुन दिनेछैन ।’

सरकारको यस अभियानमा सबैले साथ दिन प्रधानमनत्रीले सन्देशमा आग्रह गरेका छन् ।

ग्रेगोरियन क्यालेण्डर र इस्वी सम्बत्को पात्रो अनुसार प्रत्येक वर्षको जनवरी १ तारिखलाई संसारका अधिकांश देशमा नयाँ वर्षका रुपमा मनाइन्छ ।

वैशाख १ लाई नयाँ वर्षका रुपमा मनाउने हाम्रो मौलिक परम्परा भए पनि अन्तर्राष्ट्रिय प्रचलनमा रहेको इस्वी सम्बतलाई पनि नेपालमा अंग्रेजी नयाँ वर्षको रुपमा मनाउने गरेको प्रधानमन्त्रीले बताएका छन् ।