विदेशबाट फर्केको ५ दिनमै आगोले घर खरानी भएपछि संगीताको परिवार विचल्लीमा

गोपिन पोखरेल-

विर्तामोड / विदेश गएर धन कमाउँला । बाबु आमालाई सुख दिँउला । र, आनन्दले बसौला भन्ने सबैको चाहना हुन्छ ।

कतिको यो चाहना पुरा हुन्छ, त कतिको हुदैन । यस्तै, चाहना बोकेर विदेश गइन् बारदशी गाँउपालिका ५ की संगीता दर्जी । परिवारको जेठो सन्तान भएकोले उनमा त्यो बाध्यता थियो ।

उनी विदेश पनि गइन । दुःख सुख विदेशमा केही पैसा पनि कमाइन् । तर, आफुले दुःख गरेर परदेशमा कमाएको सम्पत्ती जोगाउन भने सकिनन् ।

उनको घर फर्केपछि परिवारसँग आनन्दले बस्ने इच्छा पुरा हुन सकेन । उनी विदेशबाट घर आएको ५ दिनमात्र भएको थियो । सोमबार दिँउसो बिद्युत सर्ट भइ उनको घर क्षणभरमै खरानी भो ।

विदेशबाट फर्केको पाँचै दिनमा उनको घर आगोले खरानी बनाएदियो । सोमबार दिउसो १:३०  बजेतिरको कुरा हो । आफन्त बढीबाको मृत्यु भएकोले संगीताका बुवा बलबहादुर दर्जी विर्तामोड तिर गएका थिए ।

आमा घरायसी सरसामान किन्न स्थानीय बजार तिर लागिन् । उनका भाईबुहारी, सानी भतिजी र बहिनीहरु आ आफ्नो काममा लाखा पाखा लागे । त्यहीबेला घरमा आगो सल्कियो ।

आगो निभाउने र केही सामान बचाउने अवस्थै रहेन उनको । उनको जम्मा ७ जनाको परिवार छ ।

विदेशबाट आउँदा उनले साथमा एलसिडी टेलिभिजन, मोवाइल सेट, ल्यापटप, घडी, नगद ७९ हजार रुपैयाँ नगद र बिदेशबाट साथीहरुले पठाइदिएको पार्सललगायतका सामान लिएर आएकी थिइन् ।

साथीहरुले आफन्तलाई पठाइदिएको पार्सल उनले पुर्याइदिनै पाइनन् । सबै जलेर खरानी भो ।

उनको घरभित्र भएका सरसामान केही पनि बचेनन् । वर्षभरी खान भनेर घरमा थन्काएको ४५ मन धान, भर्खरै कुटेर राखेको ५० केजी चामल, भाँडा बर्तन सबै जले । उनको टीनको छाना भएको, बाँसको टाटीबेरा गरी बनाएको १ तले घर जलेरपूर्ण बस्नै नमिल्ने भयो ।

घटनास्थल हल्दिबारी गाउपालिका वडा नं १ को सिमाना र बारदशी गाउपालिकाको वडा नं ५ स्थित साविकको चकचकी ७ सातडिग्रीमा पर्दछ ।

आगोले दर्जीको करिब ८ लाख रुपैया बराबरको धनमाल जलेर नष्ट भएको स्थानीय प्रहरीलाई उदृत गर्दै हल्दिबारी १ का वडाध्यक्ष त्रिलोचन सापकोटाले जानकारी दिए ।

उनलाई तत्काल राहत उपलव्ध गराएर खाने बस्ने व्यवस्था मलाउनु पर्ने आवश्यकता रहेको वडाध्यक्ष सापकोटाको भनाई छ ।

दिउसो करिब  १:३० बजेतिर बिद्युत सर्ट भई बलबहादुरको १ तले कच्चीघर जलेरपूर्ण क्षती भएको केही पनि नबचेको उनले बताए ।

आर्थिक अवस्था न्यून भएको संगीताको परिवारमा अब केही पनि छैन । उनको घर बनाउन सबैले सहयोग गरौं ।

आगलागीबाट २ वटा बाख्रा, घरभित्रको अन्न, सरसामानसहित करिब ८ लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको जिल्ला पहरी कार्यालय झापाको सुचना शाखाले जनाएको छ । १:३० बजे शुरु भएको आगो स्थानीय र प्रहरीको सक्रियतामा नियन्त्रण गरिएको थियो ।