नेपालले आफ्नै भू–उपग्रह प्रक्षेपण गर्ने

काठमाडौं / नेपालले आगामी वैशाखमा आफ्नै भू–उपग्रह प्रक्षेपण गर्ने भएको छ ।

जापानको क्युटेक विश्वविद्यालयमा स्नातकोत्तर र विद्यावारिधिको शोध गरिरहेका दुई नेपाली इञ्जिनीयरको सहयोगमा पहिलो पटक आफ्नै भू–उपग्रह प्रक्षेपण गर्न लागिएको हो ।

‘बर्डस थ्री’ नामक भू–उपग्रह निर्माण तथा प्रक्षेपण गर्न सरकारले ती विद्यार्थीलाई दुई करोड रुपैयाँ उपलब्ध गराएको नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नाष्ट)का प्राविधि सङ्काय प्रमुख रवीन्द्रप्रसाद ढकालले बताए।

सरकारले सहुलियत मूल्यमा तीन भू–उपग्रह एकैसाथ निर्माण तथा प्रक्षेपणका लागि उक्त रकम पठाएको जानकारी  दिए ।

वैशाखदेखि प्रक्षेपण हुने उक्त भू–उपग्रहबाट देशका विभिन्न स्थानको तस्बिर दैनिक सङ्कलन तथा हिमाल, पहाड, तराई, वन, पाखा हिमनदी, सडक र बाढीका बारेमा सूचना प्रवाह गरिनेछ ।

जापानमा भू–उपग्रह निर्माण भई अमेरिकाबाट प्रक्षेपण गरिने जनाइएको छ । सङ्काय प्रमुख ढकालले भन्नुभयो, ‘२०७६ सालको शुरुआतसँगै नाष्टका वैज्ञानिक र विज्ञान तथा प्रविधिमन्त्री जापान पुगेर भू–उपग्रह प्रक्षेपण गर्ने कार्यक्रम छ ।’

प्रक्षेपणपछि नेपालको आफ्नै भू–उपग्रह नहुँदा अन्य देशसँग ठूलो रकम खर्चेर सूचना तथा जानकारी लिनुपर्ने बाध्यात्मक अवस्थाको अन्त्य हुनेछ । भू–उपग्रहले नेपालको आकाशमा दैनिक पाँचदेखि १० मिनेटसम्म तस्बिर अभिलेखीकरण गर्नेछ ।

प्राप्त हुने तस्बिर र सूचनालाई नाष्टले आफ्नै कार्यालयको ‘ग्राउन्ड स्टेशन’मा भण्डारण गर्नेछ । नेपालले भाडाका भू–उपग्रहबाट सूचना तथा जानकारी लिँदैआएको छ ।

उज्यालोअनलाइनबाट