वाइडबडी विमान खरिदमा अनियमितताबारे सरकारले छानबिन गर्ने

बीबीसी / नेपाल वायुसेवा निगमले किनेका दुईवटा वाइडबडी विमानको खरिद प्रक्रियामा त्रुटिपूर्ण रहेको भन्दै आलोचना भइरहँदा त्यसको छानबिनका लागि गृहकार्य भइरहेको सरकारका प्रवक्ताले बताएका छन्।

संसदीय समितिले छानबिन गरिरहेकाले अर्को समिति बनाउने वा कसरी त्यसको छानबिन गर्ने भन्नेबारे छलफल भइरहेको उनको भनाइ छ।

आफ्नो प्रतिवेदन अन्तिम चरणमा पुर्‍याएको संस‌द्को सार्वजनिक लेखा समितिअन्तर्गतको उपसमितिका सदस्यहरूले वाइडबडी विमानको खरिद प्रक्रियामा अनियमितता भएको पाइएको बताएका छन्।

स्थापनाको ६० वर्षको इतिहासमा पहिलो पटक नेपाल वायुसेवा निगमले दुईवटा वाइडबडी विमान खरिद गरेको थियो। हाल सञ्चालनमा रहेका ती विमान खरिदमा अनियमितता भएको भन्दै विभिन्न क्षेत्रबाट टिप्पणी भइरहँदा संसद्‌मा समेत त्यो विषय प्रवेश गरेको छ।