नगरप्रमुखले ‘खादा’को अपमान गरेको भन्दै तमू ह्युल छोंज धी (गुराप) को आपत्ती

धर्म -दर्शन समाचार समुदाय

बिर्तामोड / बिर्तामोड नगरपालिकाका प्रमुख ध्रुवकुमार शिवाकोटीले बौद्धधर्म–परम्पराको अपमान गरेको भन्दै तमू ह्युल छोंज धी गुरुङ राष्ट्रिय परिषद् झापाले आपत्ती जनाएको छ ।

परिषद्ले आज बिर्तामोडमा पत्रकार सम्मेलन गरी बौद्धधर्म–संस्कृतीमा प्रयोग गरिने खादाको विषयमा नगर प्रमुख शिवाकोटीले अन्त्यतै अपमानजनक अभिव्यक्ति दिएको भन्दै आपत्ती जनाएको हो ।

पुस १५ गते तमु ल्होसारका दिन बिर्तामोड–१०मा पर्ने धर्मचक्र गुम्बामा आयोजित ‘तमु ल्होसार विषेश कार्यक्रम’मा प्रमुख अतिथिको रुपमा मन्तव्य राख्दै नगर प्रमुख शिवाकोटीले खादाको विषयमा टिप्पणी गरेका थिए ।

मन्तव्यमा नगरप्रमुख शिवाकोटीले ‘खादाको प्रयोग बिर्तामोडमा मैले प्रतिबन्ध गरेको छु । खादा किन्ने पैसाले रोगीको उपचार गर्नुपर्छ । खादा बच्चाको आची पुछ्न र घरमा पुछ्न पनि काम आउँदैन’ भन्दै अभिव्यक्ति दिएका थिए । नगरप्रमुखको सोही अभिव्यक्तिलाई लिएर सिङगो गुरुङ समुदायले आपत्ती जनाएको छ ।

परिषद्ले गरेको पत्रकार सम्मेलनमा नगर प्रमुख शिवाकोटीले राखेको मन्तव्यको भिडियो समेत सुनाइएको थियो ।

गुरुङ राष्ट्रिय परिषद्का केन्द्रीय सल्लाहकार मेजर श्यामबहादुर गुरुङले बौद्ध धर्मावलम्बीहरुले आठौँ शताब्दीदेखि खादाको प्रयोग गर्दै आएको इतिहास रहेको जानकारी दिए ।

‘बौद्धधर्ममा देवी–देवतालाई फूलको साटो खादा चढाइन्छ’, उनले भने, ‘खादामा विभिन्न देवी–देउताको आकृति र मन्त्र लेखिएको हुन्छ, यो हाम्रा लागि अत्यन्तै पवित्र वस्तु हो ।’

हामीले अभिभावक मानेका नगरप्रमुखबाट यस्तो अभिव्यक्ति आउला भन्ने हामीले सोचेका थिएनौं’ गुरुङले भने ‘उहाँको यस्तो अभिव्यक्तिले गुरुङ समुदायलाई गहिरो चोट पुगेको छ ।’

पत्रकार सम्मेलनमा परिषद्का कनकाई नगर अध्यक्ष सुरेशकुमार गुरुङ, प्रदेश संयोजक लक्ष्मीप्रसाद गुरुङ, परिषद् झापा अध्यक्ष धनबहादुर गुरुङ, सचिव उदय गुरुङलगायतले सबै जात, धर्म र समुदायको मत पाएर निर्वाचित जनप्रतिनिधिले कुनै पनि धर्म, संस्कृती र परम्परामाथि प्रहार गर्न नमिल्ने धारणा राखेका थिए ।

‘बुद्धको पवित्र सन्देश बोकेको खादाको सार्वजनिक कार्यक्रममै अपमान गर्नु आपत्तिजनक भएको भन्दै उनीहरुले नगरप्रमुखले आफ्नो अभिव्यक्ति नसच्याए गुरुङ समुदाय आन्दोलित हुन बाध्य हुने चेतावनी दिए ।

परिषद्ले सार्वजनिक रुपमै नगरप्रमुखले आफ्नो गल्ती सच्याउन आग्रह गर्दै विज्ञप्ती समेत जारी गरेको छ ।