दमक खानेपानीमा नेकपा र राप्रपाको चुनावी गठबन्धन

दमक / झापाको दमकस्थित खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको यहि पुष २८ गते हुन गईरहेको निर्वाचनमा लोकतान्त्रिक समूह एकातिर भएपछि नेकपा र राप्रपाको अर्को गठबन्धन तयार भएको छ ।

नेपाली कांग्रेस, संघीय समाजवादी फोरम नेपाल , नयाँ शक्ति पार्टी नेपाल, संघीय लिम्बुवान मञ्चले लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवारी घोषणा गरेका छन् । लामोसमयदेखि दमक खानेपानीमा नेकपाको पकड रहिआएको छ ।

संस्थाको निर्वाचनमा सहमतिको संभावना न्यून हुदै गएपछि नेतृत्व हत्याउन दलीय प्रतिष्पर्धा हुने देखिएको छ । नेतृत्वमा दलीय सहमति जुट्न नसकेपछि लगभग चुनाव हुने पक्कापक्की भएको बताईएको छ ।

दमक खानेपानी संस्थामा पुनः नेकपाले आफनो नेतृत्व हुनु पर्ने दावी गरेपछि चुनाव हुने स्थिति आएको अर्कापक्षधरको जिकीर छ ।

नेतृत्वमा सहमति नजुटेपछि नेकपा बाहेकका प्रमुख राजनीतिक दलहरु एकभएर चुनावमा जाने भएका हुन् । यता नेकपा र राप्रपाले गठबन्धन बनाएर चुनावमा जाने र छिटै उम्मेदवारी घोषणा गर्ने तयारी रहेको वताईएको छ ।

दमक खानेपानीमा हालका अध्यक्ष तथा वडा नम्बर ८ का वडाध्यक्ष पशुपति राज गौतमले लगातार तीन कार्यकाल नेतृत्व गरिआएका छन् । उनले वडाध्यक्षको जिम्मेवारी पाएसंगै संस्था भन्दा बाहिर बसेर जनप्रतिनिधिका रुपमा सघाउ पुरयाँउने वताउदै आएका छन् ।

करिव ८ हजार उपभोक्ता

२२ वर्ष अघि स्थापित दमक खानेपानी संस्थामा हाल ९ हजार १५ धारा पुगेको छ । ती मध्ये ७ हजार ६ सय २० वटा घरमा धारा जडित छ । कार्यालयका अनुसार दमकका १,२ ,४,५,६,७,८ र ९ वडाहरुमा सञ्चालित खानेपानी तीन वटा टंकीमार्फत वितरण हुदैआएको छ । पानी दैनिक ६३ लाख लिटर उत्पादन हुदैआएको छ ।

निर्वाचन समितिका अनुसार उपभोक्ताहरुले निर्वाचित हुने नौ सदस्यीय सञ्चालक समितिमा खुल्ला तीन महिलामा आफूले रोजेको उम्मेदवारलाई मत दिन सक्ने छन् भने क्षेत्रगत आधारमा धारा रहेको वडाबाट प्रतिष्पर्धी सदस्यलाई मात्र मत दिन पाउने व्यवस्था छ ।

सदस्यहरु निर्वाचित भएपछि मात्र त्यही सदस्यहरुमार्फत पदाधिकारी, जिम्मेवारी वाँडफाड गरिने नियम रहेको बताईएको छ ।