झापाको कन्काइ नपामा जिल्लामै पहिलो काँटी उद्योग सञ्चालनमा

रासस –

बनियानी / झापाको कनकाई नगरपालिका–१ स्थित जामुनबारीमा जिल्लामै पहिलो काँटी उद्योग स्थापना भएको छ ।

कनकाई–२ का ३७ वर्षीय दीपक चापागाईंले रु ७० लाखको लागतमा ‘डायमण्ड स्टील उद्योग’ स्थापना गरी काँटी उत्पादन शुरु गरेका हुन् ।

दक्षिण कोरियामा आधा दशक परिश्रम गरेर फर्किएका झापाका चापागाईंले स्वदेशमै उद्योग फष्टाउने सम्भावना देखेर यो प्रयास गरिएकोे बताए ।

“कोरियामा पाँच वर्ष काम गरेँ”, उनले भने, ‘त्यहाँ कमाएको रकमले स्वदेशमै आत्मनिर्भर बन्ने सोचका साथ उद्योग स्थापना गरेको हुँ ।’

उक्त उद्योगबाट पहिलो चरणमा काँटी उत्पादन शुरु गरिएको छ । चालू आर्थिक वर्षभित्र नटबोल्ट, स्टील दराजलगायत छ प्रकारका सामग्री उत्पादन गर्ने उनको लक्ष्य छ ।

उद्योगमा हाल रु १४ लाखमा दुई वटा काँटी बनाउने उपकरण र रु चार लाखमा एउटा काँटी पोलिस गर्ने उपकरण राखिएको छ । उद्योगबाट दैनिक १५ सयदेखि दुई हजार केजीसम्म काँटी उत्पादन हुँदै आएको चापागाईंले बताए ।

उद्योगबाट उत्पादित काँटी रु ९६ प्रतिकेजीमा बिक्री हुने गरेको छ । उत्पादित सामग्री मेची अञ्चलभरिका बजारमा बिक्री गरिने जनाइएको छ ।