भद्रपुरमा वडास्तरीय टी–२० क्रिकेट प्रतियोगिता हुने

खेलकुद समाचार

भद्रपुर / झापाको भद्रपुरमा वडास्तरीय टी–२० क्रिकेट प्रतियोगिताको सञ्चालन हुने भएको छ । भद्रपुरका युवाहरुको उत्साहलाई ध्यानमा राखी वडा नं ६ का युवाहरुले वडा कार्यालयसँगको सहकार्यमा भद्रपुरमा पहिलोपटक वडास्तरतरीय टी–२० क्रिकेट प्रतियोगिताको तयारी गरेका हुन् ।

क्रिकेटका विधाहरुमध्ये पछिल्लो समयमा टी–२० विधाको लोकप्रियता बढ्दै गएको छ । समय व्यवस्थापन र खर्च व्यवस्थापनमा पनि सहज हुने भएकोले यस वर्ष भद्रपुर माविको खेल मैदानमा भद्रपुर वडास्तरीय टी–२० प्रतियोगिता आयोजनाको तयारी गरिएको आयोजक बलबस्टर्स क्लव भद्रपुरका अध्यक्ष जीतु शर्माले जानकारी दिए ।

भद्रपुर नगरपालिकाको वडा नं ६ पनि आयोजकको रुपमा रहेको छ ।

यही पुस २७ गते पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसर पारी प्रतियोगिता गर्न लागिएको हो । क्रिकेट खेलको सम्बद्र्धन गर्ने, भद्रपुर नगरस्तरीय क्रिकेट टिम तयार गर्ने र भद्रपुरमा क्रिकेट एकाडेमी सञ्चालन गर्ने उद्देश्य राखेर २७ गतेदेखि नै प्रतियोगिता सञ्चालन गरिने शुक्रबार वडा कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

वडाध्यक्ष प्रेमबहादुर बरुवालको अध्यक्षतामा गरिएको पत्रकार सम्मेलनमा प्रतियोगिताको तयारीका बारे जानकारी गराइएको थियो ।

सो अवसरमा भद्रपुर नगरपालिका प्रमुख जीवनकुमार श्रेष्ठले प्रतियोगिता सफल पार्नका लागि सहयोग पुर्याउन नगरवासीसँग आह्वान गरे ।

उपप्रमुख चन्द्रमाया श्रेष्ठले प्रतियोगिताभरि प्राथमिक उपचारका लागि आवश्यक औषधिलगायतका स्वास्थ्य सेवा विर्तामोडस्थित निश्चल फार्मेसीले उपलब्ध गराउने बताइन् ।

प्रतियोगिताका लागि आरती स्ट्रिप्सले १५ हजार रुपैयाँ सहयोग गर्ने जानकारी गराएको वडा सदस्य अजय साहेवालाले बताए ।

प्रतियोगिताको विजेता टिमलाई नगद ४०००१ सहित शील्ड तथा मेडल र उपविजेता टिमलाई नगद २०००१ सहित शील्ड तथा मेडलको व्यवस्था गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

यसैगरी, सर्वोेत्कृष्ट खेलाडीलाई नगद ३००० र कप प्रदान गरिनेछ । म्यान अफ द म्याच, उत्कृष्ट व्याट्सम्यान, उत्कृष्ट बलर, उत्कृष्ट फिल्डर र उत्कृष्ट विकेटकिपरलाई कप एवम् सहभागी टिमलाई मायाको चिनो प्रदान गरिने जीतु शर्माले जानकारी दिए ।

प्रतियोगिता सम्पन्न गर्न विभिन्न उपसमिति गठन गरिएको पनि बताइएको छ । वडा सदस्य प्रकाश शर्माले सञ्चालन गरेको पत्रकार सम्मेलनमा भद्रपुरका खेलाडीहरुको पनि उपस्थिति थियो ।