बन्नेभो भेलागडीमा लोकतान्त्रिक शहिद स्मृती पार्क

पर्यटन पर्यावरण समाचार

हल्दिबारी / भेलागडी जंगलमा लोकतान्त्रिक शहिद स्मृती पार्क निर्माण हुने भएको छ । हल्दिबारी गाँउपालिका र वनका प्रतिनिधिबिच भेलागडी सामुदायिक वनमा लोकतान्त्रिक शहिद स्मृती पार्क निर्माण गर्ने सहमतिपत्र (एमओयू) मा शुक्रबार हस्ताक्षर भएको छ ।

गाँउपालिका र भेलागडी सामुदायिक वन उपभोक्ता समुहका प्रतिनिधिबिच पार्क निर्माण गर्ने सहमति पत्रमा हस्ताक्षर भएको हो । भेलागडी जंगल हल्दिबारी गाँउपालिका वडा नं २ देवनिया खोला र हर्चनाको संगम स्थलमा पर्दछ । भेलागडी सामुदायिक वन ९१.५६ हेक्टरमा फैलिएको छ ।

सामुदायिक वनसँग सहमति भएसँगै लोकतान्त्रिक शहिद स्मृती पार्क निर्माणको बाटो खुलेको छ । गाँउपालिकाका तर्फबाट अध्यक्ष रविन्द्रप्रसाद लिङ्देन र सामुदायिक वन उपभोक्ता समुहका तर्फबाट अध्यक्ष नारायणप्रसाद लुइटेलले संयुक्त रुपमा सहमति पत्रमा हस्ताक्षर गरेका थिए ।

गाँउपालिकाले भेलागडी सामुदायिक वनमा लोकतान्त्रिक शहिद स्मृती पार्क निर्माण गर्ने दोस्रो गाँउसभा बैठकले गरेको निर्णय कार्यान्वयन स्वरुप बनसँग सहमति पत्रमा हस्ताक्षर भएको गाँउपालिकाका प्रवक्ता सागर पोर्तेलले जानकारी दिए ।

सहमति पत्रमा हस्ताक्षर भएसँगै पार्कको निर्माण कार्य अघि बढ्ने प्रवक्ता पोर्तेलले बताए ।

गाँउपालिकाले यसअघिनै भेलागडी सामुदायिक बन र जलथल जंगललाई पर्यटकिय क्षेत्रको रुपमा विकास गर्ने निर्णय गरिसकेको छ ।

पार्क निर्माणका लागि १ नं प्रदेश सरकारले चालु आर्थिक वर्ष ७५/७६ का लागि सशर्त पुजीगत अनुदान बापत १ करोड ३० लाख रुपैया विनियोजन गरिसकेको छ ।

हल्दिबारी गाँउपालिकाको तर्फबाट भेलागडी जंगललाई लोकतान्त्रिक पार्कमा स्तरोन्नती गरी आधारभूत पूर्वाधार निर्माणका लागि चालु आवमा १० लाख रुपैया छुट्याएको छ ।

पार्क निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन डिपीआर समेत तयार भइसकेको छ । सो पार्कलाई गाँउपालकाले गौरवको आयोजनाको रुपमा निर्माण गर्न लागेको प्रवक्ता पोर्तेलको भनाई छ ।

स्मृती पार्क ८ करोड ३९ लाख ३१ हजार ४ सय ५६ रुपैयाँ २३ पैसाको लागतमा निर्माण हुने छ ।

स्मृती पार्क निमाणका लागि गाँउपालिकाले अध्यक्ष रविन्द्रप्रसाद लिङदेनको संयोजकत्वमा उपाध्यक्ष डम्बरबहादुर गिरी, वडा नं २ का अध्यक्ष राजेन्द्र योङ्हाङ, भौतिक पूर्वाधार समितिका संयोजक सागर पोर्तेल र प्रशासकिय अधिकृत सन्तोष घिमिरे रहेको एक सहजीकरण समन्वय समिति  निर्माण गरेको छ ।