रेलको इन्जिन कुर्दै महोत्तरीवासी

पत्रपत्रिका

जयनगर / जयनगरदेखि कुर्थासम्मको रेलमार्ग निर्माण लगभग सम्पन्न भएको छ । रेल विभागले जयनगर–बर्दिवाससम्मको रेलमार्गअन्तर्गत पहिलो चरणको काम सम्पन्न भइसकेकाले रेलसेवा सञ्चालन हुने गरी तयारी अवस्थामा रहेको जनाएको छ ।

नेपाल सरकारले आफैँले रेल किन्ने घोषणा गरेकाले इन्जिन आउनेबित्तिकै नेपालीको रेल चढ्ने धोको पूरा हुने रेल विभागका महानिर्देशक बलराम मिश्रले जानकारी दिए ।

उनले निर्माणका सबै काम पूर्ण भइसकेकाले उद्घाटनका लागि जनकपुर रेल्वे स्टेसनलाई मिथिला चित्रकलाले दुलहीझैँ सिँगारिएको जानकारी दिए । तर, जयनगरदेखि कुर्थासम्मको रेलमार्ग उद्घाटन कसले गर्ने भन्ने निर्णय भने अझै भइसकेको छैन । नेपाल र भारतको केन्द्र सरकारकै उपस्थितिमा रेलमार्ग उद्घाटन गर्ने तयारी छ ।

नेपालमा ब्रोडगेज रेलसेवा सञ्चालन गर्न लागिएको हो । साबिकमा भारतको जयनगरदेखि महोत्तरीको विजलपुरासम्म सञ्चालनमा रहेको जनकपुर रेल्वेलाई विस्तारित गर्दै नेपाल रेल्वेले जयनगरदेखि महोत्तरीको बर्दिवाससम्म सञ्जाल बढाएको छ ।

भारत सरकारको सहयोगमा निर्माण भइरहेको रेल्वे सेवा तीन चरणमा पूरा हुँदै छ, जसको पहिलो चरणको काम अन्तिममा पुगेको छ ।

पहिलो चरणअन्तर्गत जयनगरदेखि धनुषाको कुर्थासम्म रेल सञ्चालन गर्ने योजना छ । जयनगरदेखि कुर्थासम्मको तीन हल्ट, पाँच स्टेसन र प्लेट फर्म तयार भइसकेको रेल तथा मेट्रो विकास आयोजना साइट कार्यालयका प्रमुख इन्जिनियर विनोद ओझाले बताए ।

जयनगरदेखि कुर्थासम्मको ३५ किलोमिटरसम्मको रेलसेवा गत डिसेम्बरभित्र सञ्चालन गरिसक्ने लक्ष्य भए पनि हाल रोकिएको उनको भनाइ छ ।

त्यस्तै, दोस्रो चरणको कुर्थादेखिको भंगहासम्मको रेलसेवा आगामी मार्च या अप्रिलभित्र सञ्चालन गरिसक्ने इन्जिनियर ओझाले जानकारी दिए । दोस्रो चरणमा थप १७ किलोमिटर रेलसेवा सञ्चालन हुनेछ । दोस्रो चरणअन्तर्गत धनुषाको कुर्थादेखि महोत्तरीको खुट्टा हुँदै भंगहासम्म दुई स्टेसन र दुईवटा हल्ट निर्माण सम्पन्न भइसक्ने उनको भनाइ छ । दोस्रो चरणमा सञ्चालन हुने रेलसेवाको कार्यसमेत द्रुत गतिमा भइरहेको छ ।

तेस्रो चरणको रेलसेवा थप १७ किलोमिटर विस्तार गर्ने लक्ष्य रहेकोमा बर्दिवासमा जग्गा अधिग्रहण अझै टुंगिएको छैन । सरकारले निर्धारण गरेको मुआब्जा निकै कम भएको भन्दै स्थानीयले मुआब्जा रकम बढाउन माग गरेका छन् । स्थानीयको माग सम्बोधन गर्न इलाका प्रशासन कार्यालय बर्दिवासको नेतृत्वमा मुआब्जा निर्धारणका लागि उपसमिति बनाइएको छ ।

केन्द्रीय भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले बर्दिवासमा निकै बढी मुआब्जाको माग भइरहेको र नेपाल सरकारले त्यति रकम दिन नसक्ने भन्दै बर्दिवासको स्टेसनको स्थान मुआब्जा विवाद नटुंगिए फेरबदल हुन सक्ने बताए ।

उनले हाल छलफल चलिरहेकाले तत्कालै केही भन्न नसक्ने भए पनि सरकारले आवश्यक देखे बर्दिवासको एक या दुई किलोमिटरपछाडि वा अगाडि स्टेसन बनाउन सक्ने जानकारी दिए । जयनगरदेखि बर्दिवाससम्मको रेलको दूरी ६९ किलोमिटर छ ।

ब्रोडगेज रेलको स्टेसन निर्माणमा चाहिने जग्गाको अभाव भएपछि जनकपुर स्टेसनलाई हल्ट बनाइएको छ । कुनै वेला मिथिलाकै राजधानीसमेत रहेको जनकपुर स्टेसनलाई विशेष आकर्षक बनाउन मिथिला पेन्टिङ भइरहेको छ । विश्वमै ख्याति कमाएको मिथिला पेन्टिङको थप प्रचार–प्रसार र राजधानीकै एक महत्वपूर्ण कलालाई विशेष रूपमा जनकपुरस्थित स्टेसनमा दर्शाइँदै छ ।

जयनगर–बर्दिवास रेलसेवा पूर्ण सुचारु भएपछि यस भेगका लाखाैँ जनता लाभान्वित हुनेछन् । जयनगरदेखि जनकपुर आउन रेलसेवा नहुँदा  विभिन्न घुमाउरो बाटो प्रयोग गर्नुपर्ने बाध्यता हट्ने स्थानीय गणेशकुमार यादवले बताए ।

महिनाथपुर दर्जनौँ गाउँलाई जोड्ने केन्द्र भएको र यहाँका लाखौँ जनताको यातायातको मुख्य साधन रेल नै रहेकाले यस क्षेत्रको आर्थिक तथा अन्य विकासमा रेलसेवाले मद्दत पुग्ने उनको भनाइ छ । राम्रो बाटो नहुँदा बिरामीलाई जनकपुर तथा भारतका अस्पतालसम्म समयमै पु-याउन नसक्दा अकालमै दर्जनौँको मृत्यु हुने गरेको यादवले बताए ।

जयनगर–बर्दिवास रेल्वेले यात्रुहरूका साथै यस क्षेत्रको आर्थिक विकास गर्न सक्ने प्रचुर सम्भावनालाई मध्यनगर गर्दै इनरवामा मुख्य भन्सार कार्यालय स्थापना गर्नुपर्ने स्थानीयको माग छ । हाल छोटी भन्सार कार्यालय रहेकोमा त्यसले यस क्षेत्रको विकासमा सहयोग गर्न नसक्ने भन्दै मुख्य भन्सार भए भारतबाट ठूलो परिमाणमा सामग्री ल्याउन र व्यापार गर्न सहयोग पुग्ने खजुरीका स्थानीय रामपृत कापर बताउँछन् ।

जनकपुर रेल्वे नेपाल रेल्वेमा परिणत भइसक्दा विगतमा सञ्चालन भएको कोइला इन्जिन र डिजेल इन्जिन तथा पुरानो बोगीहरूलाई संरक्षित गर्नुपर्ने स्थानीयको भनाइ छ । प्रायः दुर्लभ कोइला इन्जिन इतिहास बोकेकाले तिनलाई प्रदर्शनीमा राख्न सके प्रदेश–२ मा धेरै पर्यटक भिœयाउन सकिने सम्भावना पनि छ ।

याज्ञवल्क लक्ष्मीनारायण विद्यापीठका मैथिली विभाग प्रमुख उपप्राध्यापक मुक्तिनाथ झा नेपालमा जनकपुर रेल्वेको आफ्नै इतिहास रहेको बताउँछन् । उनले मिथिलामा आउने पर्यटक र यहाँको भावी सन्ततिका लागि पुराना कोइला तथा डिजेल इन्जिनहरूको संरक्षण अति आवश्यक रहेको बताए ।

‘यसले विगतमा कुन रूपमा नेपालको रेलको विकास भएको हो ? त्यो अध्ययनमा समेत सघाउ पुर्‍याउने भएकाले संरक्षण गर्न आवश्यक छ,’ उनले भने । प्रदेश सरकारले संग्रहालय बनाएर यसको संरक्षण गर्नुपर्ने उनको भनाइ छ ।

नेपाललाई रेलमार्गसँग जोडी यहाँको यातायात सहज बनाउन संघीय सरकारले भारत र चीनसँगको सहयोगमा विभिन्न रेलमार्गको सञ्जाल निर्माण गर्न लागेको छ ।

केन्द्रीय भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले विभिन्न योजनामार्फत नेपालमा रेल सञ्जाल निर्माण भइरहेको र केही आयोजनाको डिपिआरसमेत भइरहेको बताए । आउँदो चार वर्षभित्र नेपालमा २८ सय किलोमिटर रेलमार्ग निर्माण गर्ने र १२ सय किलोमिटर सञ्चालनमै ल्याइसक्ने उनको भनाइ छ ।

नेपालमा सन् १९२७ मा ४६ किलोमिटर रक्सौल–अमलेखगन्ज सञ्चालन भएको पाइन्छ । यो रेल सन् १९६५ मा बन्द भएको थियो । त्यसपछि सन् १९३७ मा ५३ किलोमिटर जनकपुर–विजलपुरा रेललाइन सुरु भयो, जसको नाम जनकपुर रेल्वे राखियो । यसमा भारतमा तीन किलोमिटर र नेपालमा ५० किलोमिटर रेल लम्बाइ थियो ।

तत्कालीन ब्रिटिस सरकारले भारतमा शासन गरिरहेका वेला महोत्तरीको जंगलबाट सखुवा तथा अन्य काठ ओसार्न यो रेलसेवाको सुरुवात गरेको थियो । यसलाई पछि यात्रुहरूका लागि खुला गरिएको थियो । ०५९ सालको बाढीले विग्ही पुल क्षतिग्रस्त भएपछि जयनगरदेखि विजलपुरासम्मको रेलसेवा प्रभावित बन्यो । त्यसपछि जनकपुर–जयनगरसम्म सञ्चालन हुँदै आएको थियो । विगत ६ वर्षदेखि यो रेलसेवा पनि पूर्ण रूपमा बन्द छ । हाल सोही पुरानो सिंगल गेज संरचनालाई हटाएर ब्रोडगेज रेल विस्तार भइरहेको हो ।

कुन–कुन योजना बन्दै छन् ?

१. जयनगर–जनकपुर–बर्दिवास : ६९ किलोमिटरको जयनगर–जनकपुर–बर्दिवास रेलसेवा तीन चरणमा सम्पन्न गर्ने । यो रेलसेवा भारत सरकारको सहयोगमा निर्माण भइरहेकोमा इन्जिन र बोगी नेपाल सरकारले आफैँले किन्ने भएको छ ।

२. बथनाहा–जोगवनी–विराटनगर : १३ किलोमिटर रेल निर्माणको अन्तिम चरणमा रहेको छ । भारत सरकारको अनुदानमा उक्त रेललाइनको काम
भइरहेको छ ।

३. पूर्व–पश्चिम लाइन : नेपाल सरकारले आफ्नै लागतमा मेची–महाकाली विद्युतीय रेलमार्ग निर्माण गर्दै छ । यसलाई पूर्व–पश्चिम रेल नामले समेत चिनिएको छ । नौ सय ४५ किलोमिटरको यो रेलले नेपाललाई आर्थिक रूपले विकसित गर्न ठूलो सहयोग गर्नेछ । हाल बर्दिवास–सिमरा खण्डअन्तर्गत बर्दिवासदेखि सिमरासम्मको करिब ३५ किलोमिटर माटोको काम हुँदै छ भने प्याकिङ, पुल, कल्भर्ट निर्माण भइरहेको छ ।

४. रक्सौल–वीरगन्ज–काठमाडौं लाइन :  भारत सरकारको सहयोगमा हाल डिपिआर भइरहेको छ । यो योजनाले राजधानीलाई रेलको माध्यमले वीरगन्जसँग जोड्नेछ । यो रेमार्गले व्यापारिक दृष्टिकोणले नेपालको समृद्धिमा टेवा पु-याउनेछ । यसको कुल लम्बाइ एक सय ४२ किलोमिटर छ ।

५. नेपालगन्ज–रूपडिया : भारतीय बजार रूपैडियादेखि बाँकेको कोहलपुरसम्मको रेल्वे लाइन निर्माणको प्रक्रियामा छ । १६.५ किलोमिटर दूरी भएको रेल भारत सरकारको सहयोगमा निर्माण भइरहेको हो । पूर्वोत्तर रेल्वे गोरखपुरले खटाएको आके टेक्नो कन्सल्टेन्सीका प्राविधिक टोलीले यसको सर्भे सम्पन्न गरेर केही महिनाअघि नै सर्भे रिपोर्ट बुझाएको थियो । यो सिंगल लाइन रेल हुनेछ ।

नयाँपत्रिकाबाट