गीतकार दुर्गा कडरीयाको ‘तिम्रो लागि’ को छायाङ्कन सकियो, भिडियो चाँडै सार्वजनिक गर्ने

विर्तामोड / साहित्य क्षेत्रको गजल विद्यालाई समातेर बामे सर्दै गरेका झापाली नवश्रष्टा दुर्गाप्रसाद कडरीया सुमधुर गीत लिएर श्रोतामाझ आएका छन् ।

कडरीयाको गीत भिडियो सहित चाँडै सार्वजनिक हुँदैछ । गजल लेखनमा संघर्षरत कडरीयाले सुमधुर स्वरका धनी गायक नरेन्द्र प्यासीको स्वरमा एउटा गीत रेकर्ड गराएका छन् ।

गीतको अडियोसँगै म्युजिक भिडियो पनि एकै पटक दर्शक श्रोतामाझ ल्याउने योजनामा रहेका कडरीयाको उक्त गीतको भिडियो छायाँङ्कन सकिएको छ ।

कडरीयाको शव्द र गायक प्यासीको आवाजमा रहेको गीत ‘तिम्रो लागि’ को इटहरी र आसपासका क्षेत्रमा भर्खरै भिडियो छायांकन गरिएको छ ।

भिडियोमा अर्का गीतकार रोहित घिमिरे र अनमोल खतिवडा  फिचर भएका छन् भने उनीहरुलाई दक्षिणा भट्टराईले साथ दिएकी छिन् ।

भिडियोको निर्देशन इटहरीका सुवास संकल्पले गरेका छन् । उनले यसअघि आधा दर्जन बढि भिडियो निर्देशन गरिसकेका छन् । सुवासले पनि भिडियोमा अभिनय गरेका छन् ।

परिकला मिडिया प्रालिद्धारा निर्मित भिडियोमा विवाहित महिलाको मोबाईल तथा फेसबुक क्रेज, बिन्दासपन र धोकेबाज शैलीलाई उतार्ने प्रयास गरिएको गीतकार कडरीयाले जानकारी दिए ।

भिडियो सुमन तामाङ्गले खिचेका छन् भने संगीत चित्रलाल शर्माको रहेको छ ।

पुष्कर सुनुवारले एरेञ्ज गरेको गीत गुञ्जन रेकर्डिङ स्टुडियोमा रेकर्डिङ गरिएको बताइएको छ । गीतको भिडियो केहि साता पछि युट्युबमा सार्बजनिक गरिने गीतकार कडरीयाले बताएका छन् ।