गोलधाप कपुरस्थानमा मलामी खाजाघर बन्ने

गोलधाप / हल्दिबारी गाँउपालिका वडा नं-१, को कपुरस्थानमा मलामी खाजाघर निर्माण हुने भएको छ । संरक्षणको अभावमा अस्तव्यस्त रहेको समाधिस्थल कपुरस्थानमा व्यवस्थित खाजा घर निर्माण गर्न लागिएको हो ।

विर्तामोडनगरपालिका-१० र हल्दिबारी-१ को सिमानामा पर्ने समाधीस्थल कपुरस्थानमा वर्षौदेखि किराँतलगायत जमिनमा समाधिस्त गर्ने समुदायहरुले मृतकको शव गाड्दै आएका छन् ।

करिब १ विगाहा क्षेत्रफलमा फैलिएको सो कपुरस्थान संरक्षणको अभावमा अव्यवस्थित थियो । शव समाधिस्त गर्न आउने मलामीजनलाई खाजा खान र बस्न समेत असुविधा भएपछि खाजा घर निर्माण गर्न लागेको विर्तामोड १० का स्थानीय रिमानध्वज लोक्तामले बताए ।

मलामी खाजा घर र शौचालय निर्माणका लागि हल्दिबारी वडा नं १ ले आर्थिक वर्ष ०७५/७६ का लागि ५ लाख रुपैया विनियोजन गरेको थियो । विनियोजित उक्त रकमबाट मलामी खाजाघर बन्न लागेको हो ।

‘संरक्षण अभावमा हेपिएको यो पुरानो कपुरस्थानको लागि वडा कार्यालयले बजेट छुट्याइ दिएको रहेछ’–स्थानीय अगुवा रिमानध्वजले भने– ‘मैले त खुसी लागेर वडा अध्यक्षलाई धन्यबाद पनि दिए ।’ कसैले नहेरेको यो ठाँउको लागि बजेट परेछ अब यस्लाई व्यवस्थित गर्नुपर्छ’ लोक्तामले भने ।

सो स्थानमा विर्तामोड नगरपालिका-१०, बाह्दशी वडा नं-५ र हल्दिबारी गाँउपालिकालगायत आसपासका क्षेत्रबाट शव समाधीस्त गर्न ल्याउने गरिन्छ ।

कपुरस्थान व्यवस्थित गर्न हल्दिबारी १ को रामजानकी टोलविकास संस्थाको अगुवाइमा हालै एक भेलाको आयोजना गरिएको थियो । भेलामा वडा नं १ का अध्यक्ष त्रिलोचन सापकोटा, वडा सदस्य पदम राई, विर्तामोड-१० नं वडासदस्य गीता घिमिरेलगायतको उपस्थिति थियो ।

भेलाले खाजा घर निर्माणका लागि कुन्ता खनालको संयोजकत्वमा भवन निर्माण समिति चयन गरेको छ ।

समितिको सहसंयोजकमा रिमानध्वज लोक्ताम, सचिवमा महेन्द्र पोखरेल, सह सचिवमा नरेन्द्रकुमार फागो, कोषाध्यक्षमा पवित्रा तामाङ रहेका छन् । सदस्यमा सरोज राई र डिल्ली लिङ्देन रहेका छन् ।

त्यस्तै, भेलाले कपुरस्थान तदर्थ संरक्षण समिति पनि गठन गरेको छ । तदर्थ समितिको संयोजकमा रिमानध्वज लोक्ताम रहेका छन् । समितिको सह संयोजकमा नगेन्द्र शेर्मा, सचिवमा नरेन्द्रकुमार शेर्मा चयन भएका छन् ।

समितिको सदस्यमा शेरबहादुर माङ्यो, टंकीनाथ योङ्हाङ, प्रेम लिङ्दम, हरी पोखरेल, रमा घिमिरे, राजकुमार शिवा, तारा मगर, धनमायाँ दाहाल, विमला लिङदेन र श्रीप्रसाद राई रहेका छन् । भेलाले  विर्तामोड नगरपालिकामा पनि बजेट माग गर्ने निर्णय गरेको छ ।