सांस्कृतिक संवाहक पृथ्वीनाराण शाह

टीका धमला– (विचार)

धार्मिक ग्रन्थ वेदमा हिन्दुहरूको उद्गमस्थल कैलाश पर्वतदेखि कन्या कुमारीसम्मको पवित्र भूमिको वर्णन छ। वेद व्यासले वेदको लेखन यसै तपोभूमि नेपालमै बसेर गरेका थिए। यही तपोभूमिमा पृथ्वीनारायण शाहको जन्म हुनु संयोग मात्र नभएको लिखित तथा अलिखित इतिहासमा उल्लिखित छ।

पृथ्वीनारायणको जन्म हुँदासम्म नेपालको दक्षिणमा रहेको हालको भारतमा ब्रिटिस साम्राज्यको रजगज चलिसकेको थियो। त्यहाँको सामाजिक र सांस्कृतिक परम्परालाई ध्वस्त पारेर आफ्नो स्वार्थपूर्तिका लागि बलियो जग बनाइसकेको थियो। त्यसपछि ब्रिटिस साम्राज्य नेपालको बाटो हँुदै चीनसम्म पुगी एसियाको मात्र नभई संसारकै पहिलो सभ्यता भएको यस क्षेत्रमा आफ्नो प्रभुत्व जमाउने नियत राखेको इतिहासमा पाइन्छ।

पृथ्वीनारायण रानी कौशल्यावतीको गर्भमा हुँदादेखि नै गोरखा दरबारमा अनौठा शुभसंकेत देखिन सुरु भएको थियो। रानी कौशल्यावतीले सूर्य निलेको सपना देख्नु, अपरिचित महिलाबाट रानीसमक्ष ‘लौ अब गोरखा राज्यमा एक प्रतापी राजकुमार जन्मिने भएछन्’ भन्दै तुरुन्तै अलप हुनु, अपरिचित साधुहरूको गोरखा दरबारमा आवतजावत हुनु आदिइत्यादि कुराहरू भइरह्यो। जन्म भएको समयमा पूर्वपट्टिको जंगलमा जोर बाघ कराउनुको साथै गोरखकाली मन्दिरको घण्टा आफैं बज्नु अर्को शुभसंकेत थियो। पृथ्वीनारायण सानो छँदा एक बिहान गोरखा दरबारनजिकै पहराको एउटा कुनामा साथीहरूसँग खेलिरहँदा गुरु गोरक्षनाथ प्रकट भई तिमीले टेक्न सकेजति भूमि तिम्रो विशाल राज्य हुनेछ भन्ने आशीर्वचन दिएको इतिहासमा उल्लेख छ।

वि.सं.१७९९ चैत २५ गते पृथ्वीनारायण गोरखाका राजा भए। राजा भएको दिनमै उनले आफ्ना बुबा नुवाकोट हमलामा असफल भएको भनी तत्काल त्यहाँ कब्जा जमाई नेपाल एकीकरण अभियानमा लाग्ने प्रण गरेका थिए। २०÷२१ वर्षको उमेरमै राजा भएको वर्ष दिन नपुग्दै काजी महेश्वर पन्तको नेतृत्वमा नुवाकोटमाथि हमला गर्दा नराम्रोसँग हार खाएर फर्किनु पर्‍यो। यसले पृथ्वीनारायणलाई खिन्न बनायो।

नुवाकोटमाथिको हमला असफल भएपछि गोरखा दरबारमा भाइ-भारदार, सन्त-महन्त, गुरु-पुरोहितलगायत अन्य आवश्यक व्यक्तिहरूसँग आफ्नै उपस्थितिमा अब भोलिको दिनबाट नेपाल एकीकरणमा कसरी अगाडि बढ्ने भन्ने विषयमा बृहत छलफल भयो। यसै छलफलमा एक सन्तले उठेर हात जोडी पृथ्वीनारायणलाई भने—महाराज राज्य विस्तार र प्रजाको रक्षाका लागि बलको आवश्यकता पर्छ। चाणक्य नीतिमा राज्य सञ्चालनको निम्ति पाँच किसिमको बलको व्याख्या गरिएको छ। भौतिक बल, धन बल, प्रशासनिक बल, बौद्धिक बल तथा परम्परा एवं सांस्कृतिक बल। हाम्रो गोरखा राज्यमा भौतिक बल जस्तै प्रसस्त हातहतियार छैनन्, धन पनि छैन र प्रशासनिक संयन्त्र पनि बलियो छैन। त्यसैले हामीले बौद्धिक बल र परम्परा एवं सांस्कृतिक बल प्रयोग गरेर अविलम्ब नेपाल एकीकरण अभियानमा लाग्नुपर्छ।

काठमाडांै उपत्यकाको विजय गरेपछि मल्ल राजाको पालामा भएको धार्मिक एवं सांस्कृतिक परम्परालाई जगेर्ना गर्दै आफंै त्यसमा सम्मिलित हुनु हो। यति मात्र नभई आफ्नो दरबारमा यहाँका बासिन्दालाई प्रशासनिक जिम्मासमेत दिए। दोलखा राज्यलाई मिलाउँदा पनि त्यहाँका राजाका सहमतिमै ईष्ट देवता दोलखा भीमसेनको गुठीको सम्पत्तिलाई दोब्बर बनाइदिएका थिए। पूर्वमा राई, लिम्बूहरूको किपटको व्यवस्थालाई पनि कायमै राखी राम्रो व्यवस्था गरिदिएका थिए।

पृथ्वीनारायणबाट सांस्कृतिक परम्परालाई रक्षा मात्र नगरी आधुनिकीकरण समेत गर्दै गएको देखिन्छ। उदाहरणका लागि नुवाकोटमा पहिलो हमला हुँदा बिहान त्रिशूली नदी पश्चिम खिन्चेत फाँटमा फौजले जुत्ता र लुगा खोली भात पकाएर खान लाग्दा जयप्रकाश मल्लको फौजले हमला गरी तितरवितर पारी ठूलो क्षति पुर्‍यायो। त्यसबेला क्षेत्री बाहुनहरूले भात पकाएर खाँदा जुत्ता र टोपी खोल्नु पर्दथ्यो। त्यसलाई महसुस गरी राजाबाट अब आइन्दा लडाइँमा जुत्ता लगाएर भात खाए पनि जात जाने छैन भन्ने नियम बनाएर लागू गराए। यी माथिका विषय मनन गर्दै पृथ्वीनारायणबाट आफ्नो दिव्योपदेशमा ‘सबै जात जातिले आआफ्नो कुल धर्म थामी खानु’ भनी सबैलाई एक सूत्रमा बाँध्न सफल भएको देखिन्छ।

नरभुपाल शाहको नुवाकोटमाथिको पहिलो हमला असफल भएपछि गोरखा दरबारमा रुवाबासी चल्यो। नरभुपाल काम्दै बेसुरका कुरा गर्न थाले। कसैले राजा बहुलाए पनि भने। पछि खोजीनीति गर्दा आफ्ना बंशका रणशार्दुल शाह गोरखा दरबारमा झुण्डिएर प्राण त्यागी वायु भएका रहेछन्। सोही वायुले दुःख दिई राजालाई सञ्चो नभएको पत्ता लगाई आफ्नै बंशका दल शाहलाई वायु बोक्न लगाई समस्याको समाधान गरियो। यी सबै परिवेशहरू पृथ्वीनारायणले नजिकबाट नियालिरहेका थिए। नुवाकोटमाथि विजय हासिल गरेपछि पृथ्वीनारायण आफैं काम्न थाले। उक्त वायु बोक्ने दल शाहको मृत्यु भइसकेको थियो।

यसले राजालाई धेरै चिन्ता पार्‍यो। यसपछि राज्यमा वायुको समाधान गर्न सक्ने राम्रो तान्त्रिकको खोजी हुँदा नारद धमला तान्त्रिक भएको पत्ता लगाई उनैबाट वायुको व्यवस्था गर्न लगाइयो। त्यसपछि विभिन्न ठाउँहरूमा जग्गा छुट्याई वायु गुठीको नामकरण गरियो। नारद धमलालगायत उनैका सन्तानहरू गुठीयार नियुक्त हुने गरी गुठीको जग्गाबाट उठेको आम्दानीबाट वायुको पूजा चलाई बाँकी आम्दानी गुठीयारकै खान्की हुने व्यवस्था मिलाइयो। यसको प्रमाण वि.सं.१८९६ मा राजा राजेन्द्रविक्रम शाहबाट वीरभद्र धमलाको नाममा दिइएको लालमोहर बकसबाट स्पष्ट हुन्छ। उक्त लालमोहरमा भएको व्यहोरा यसप्रकार छ—

‘आगे वीरभद्र धमलाको हाम्रा दरबारका गुठी १ बाट तम्रा बाबु देउशर्मा धमलाको अख्तियार गरी बक्सन भयाको रहेछ। पछि २ बाट पनि सोहीबमोजिम थामी बक्सनु भयाको रहेछ। २ कासी पाउ लाग्नु हुँदा दानरू शाहीले आफ्नु अख्तिायार गरी षडबड पारी सवाल पट्टाबमोजिमको गुठी चलाई २६० रुपैयाँ जगेरा राख्नु भन्या स्थितिको मोहोर गरी बक्सनु भयाको रहेछ। साल ८१ मा बिरौटा बिराई जग्गा आवाद हुँदा १४० रुपैयाँ थपी जम्मा ४०० रुपैयाँ जगेरा सालिन्ना राखी अघिदेखि चलिआयाको दसैं, श्राद्ध र पूर्णीमा महापूजा गर्नु भन्या मोहोर भयाको रहेछ। साल ९६ मा महावीर बानियाँले इजारा बढाई मारीमेटी पन्ध्र षय रुपैयाँमा जग्गा लिँदा तिमीलाई जग्गा छुट्याएको रहेछ। आज तिमीले हाम्रा हजुरमा बिन्ती गर्दा अघिदेखि पनि त्यो जग्गा नारद धमलाका सन्तान र शान्तिरूप शाहीका सन्तानले मात्र खाई चर्चिआयाको रहेछ।

आज हामीले पनि ३ बाट बक्स्याको बमोजिम त्यो जग्गाको बाजबी सेर्मा डंड कुंड मर्‍यो अपुताली चाक चकुई औं अमालीले षान्या र ककंल मारी मेटी मोहोरू रुपैयाँ १५५० का भण्डार कपरदारमार्फत किस्तव किस्ता रुपैयाँ दाषिला गर्नु भन्या ठेग थितिको मोहोर गरी बक्स्यौं आफ्ना षातीज्र्मासँग साल बसाल ठेकियाबमोजिमका रुपैयाँ बुझाई भोग्य गर।’ (वि.सं.१९६५ मा श्री ५ को वायु गुठीको अन्तिम गुठीयार नारद धमलाकै सन्तान कप्तान कालीदास धमला थिए। त्यसै वर्ष चन्द्रशमशेरले उक्त गुठीमा गडबड पारी नारद धमलाको सन्तानबाट गुठीयारी हरण गरियो। पंक्तिकार नारद धमलाकै सन्तती हो)।

स्मरणीय के छ भने गोरखा दरबारको दक्षिण पूर्व कुनामा एउटा कोठा छ, जुन कोठामा रणशार्दुल शाहले झुण्डिएर आत्महत्या गरेका थिए। उक्त कोठा बन्द नै छ र ताल्चा लगाइएको छ।

पृथ्वीनारायणबाट नेपाल एकीकरण हुँदा बौद्धिक बल र सांस्कृतिक बल नै प्रयोग गरेर नेपालको राष्ट्रिय एकता कायम गरेको देखिन्छ। टुक्राटुक्रा भएको राज्यहरूलाई एउटा राज्य बनाउँदा आपसमा मेलमिलाप गराएर नेपाल चार जात छत्तीस वर्णको साझा फूलबारी बन्न र बनाउन सक्नुमा सबै नेपालीको परम्परा र कुल धर्मको रक्षा गरिनुबाट नै भएको इतिहासले पुष्टि गर्छ।

अमेरिकाका राष्ट्रपतिले सपथ खाँदा बाइबल छुनु, बेलायतको राजपरम्परा एक चर्चसँग जोडिनु जस्ता विषयले ती देशका आआफ्ना परम्परालाई मान्यता दिइरहेको ठहर्छ। नेपालमा बाह्य र भित्रैबाट पनि केही असरवादीहरूबाट संस्कृति र परम्परालाई ध्वस्त पारी द्वन्द्व फैल्याई आफ्नो स्वार्थपूर्ति गर्न लागिपर्नेहरूको लामै इतिहास छ। ०६२÷६३ को परिवर्तनपछि त्यो गलत प्रवृत्ति खुलारूपमा देखा परेको छ।

नयाँ संविधान बनाउने निहुँमा नेपालको नामै परिवर्तन गर्न खोज्नु, चन्द्रसूर्यअंकित राष्ट्रिय झन्डा हटाउन खोज्नु, राष्ट्रिय पोसाक दौरासुरुवाल हटाउनु यी र यस्तै कयौं दुष्प्रयास गर्ने काम भए। पशुपतिनाथको पुजारी हटाउन दुष्प्रयत्न गर्नु र सेना दिवसको दिन परिवर्तन गर्ने दुस्प्रयत्न गर्नु यही दुष्प्रवृत्तिका उदाहरणहरू हुन्।

नेपालको राजनीतिक इतिहासमा २००७ देखि आजसम्म आइपुग्दा राजनीतिक स्थायित्व नहुनुको कारण के हुन सक्छ भन्नेमा हामीले पृथ्वीनारायणको आधुनिक नेपाल निर्माणदेखिका सबै विषयमा आपसमा गम्भीर विचारविमर्श गर्न सक्छौं। खासगरी राष्ट्रनिर्माताको दिव्योपदेशदेखि यताका सबै राष्ट्रिय चिन्तन र परम्परालाई साक्षी राखेर राष्ट्रको सर्वतोमुखी हित के कसरी गर्न सकिन्छ भनेर दूराग्रहमुक्त मनमस्तिष्क लिएर छलफल गर्नुपर्ने ऐतिहासिक खाँचो देखापरेको छ।

—धमला नेपाली सेनाका अवकाशप्राप्त उपरथी हुन्।

अन्नपूर्णपोष्टबाट