मोवाइल पड्किएर विराटनगरमा ७ वर्षीय बालकको मृत्यु

विराटनगर / मोवाइलको ब्याट्री पड्किएर मोरङको विराटनगरमा एक ७ वर्षीय बालकको मृत्यु भएको छ ।

शुक्रबार दिउँसो आगो ताप्ने क्रममा व्याट्री बिस्फोट हुँदा स्थानीय सुवास मण्डलका ७ वर्षीय छोरा अमित मण्डलको मृत्यु भएको हो । विराटनगर १५ रामजानकी चोकमा आगो ताप्नेक्रममा ब्याट्री पड्किएर बालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बिस्फोटमा स्थानीय राजेश मण्डलकी ६ वर्षीया छोरी राधिकाकुमारी मण्डल गम्भीर घाइते भएकी छिन् । निर्माणाधीन घरमा आगो बाली खेल्ने क्रममा बिस्फोट हुँदा घाइते भएका बालकको उपचारको लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले   जनकारी दिएको छ ।

आगो बलेको ठाउँमा पुरानो मोवाइलको ब्याट्री रहेको र सोही ब्याट्री पड्किएको हुनसक्ने प्रहरीले जनाएको छ । घाइते भएकी बालिकाको भने विराटनगर आँखा अस्प्तालमा उपचार भइरहेको छ ।