झापामा हामी तीन ‘वीथ्री टीम’ गठन

समाचार स्थानीय

विर्तामोड / झापाका दक्षिणी भेगका ३ गाँउपालिका मिलेर वीथ्री (हामी तीन) टीम गठन गर्ने निर्णय गरेका छन् ।

हल्दिबारी, कचनकवल र बाह्दशी गाँउपालिका मिलेर वीथ्री टीम गठन गर्ने निर्णय गरेको हल्दिबारी गाँउपालिकाका अध्यक्ष रविन्द्रप्रसाद लिङ्देनले जानकारी दिए ।

झापामा पहिलो पटक दक्षिणी भेगका तीन गाँउपालिकाका प्रमुखले मिलेर सहकार्य गर्ने निर्णय गरेका हुन ।

‘वीथ्रीको अर्थ साँध सिमाना मिल्ने गाँउपालिकाहरु (हामी तीन) भन्ने हो’ अध्यक्ष लिङ्देनले भने-‘हरेक विकास निर्माणका काममा आफ्नो गाँउपालिकाको क्षमताले नभ्याउने सामाग्री खरिद गर्न र साझेदारीमा मिलेर अघि बढ्न वीथ्री गठन गरेका हौं ।’

न्यून आय भएका झापाको दक्षिणी भेगका यी गाँउपालिकालाई ठूला ठूला आयोजनाहरुको मर्मत संभार र स्तरबृद्धी गर्न ग्रेडर लगायतका मेसिनरी औजारको अभाव छ ।

यस्ता मेसीनरी औजार किन्न सक्ने अवस्था नभएकोले त्यस्ता औजारहरु दीर्घकालसम्म तीनवटै स्थानीय निकायको स्वमित्वमा रहने गरी लागत साझेदारीमा उपयोग गर्न वीथ्री टीम गठन गरिएको अध्यक्ष लिङ्देनले बताए ।

बिहीबार हल्दिबारीका अध्यक्ष लिङ्देनको संयोजकत्वमा गाँउपालिका कार्यालयमा बसेको ३ गाँउपालिकाका अध्यक्षहरुको बैठकले त्यस्तो निर्णय गरेको हो ।

बैठकमा हल्दिबारीका अध्यक्ष लिङ्देनसहित कचनकवल गाँउपालिकाका अध्यक्ष अञ्जार आलम र बाह्दशी गाँउपालिकाका अध्यक्ष खड्गप्रसाद राजवंशीको उपस्थिति थियो ।

तीन गापाका अध्यक्षको संयुक्त बैठकले जिल्ला समन्वय समितिको स्वामित्वमा रहेको ग्रेडर माग गर्ने पनि निर्णय गरेको छ ।

मेसिनरी औजारहरु लागत साझेदारीमा उपयोग गर्न संयन्त्र खडा गरी आ आफ्नो गाँउपािलकाबाट अनुमोदन गराउने पनि बैठकले निर्णय गरेको छ ।

तीन गाँउपालिकाहरु बीच विकास निर्माणमा समानता ल्याउने उद्देश्यले वीथ्री गठन गरिएको गाँउपालिकाका प्रवक्ता सागर पोर्तेलले जानकारी दिए ।