विर्तामोड अन्तर्राष्ट्रिय व्यापार महोत्सवको तयारी तिब्र

विर्तामोड / विर्तामोडमा शुरु हुन लागेको विर्तामोड अन्तर्राष्ट्रिय व्यापार महोत्सवको तयारी तिब्र रुपमा भइरहेको मेला आयोजक समितिले जनाएको छ ।

‘उद्यमीको रहर, उपभोक्ताको घर घर’ नाराका साथ माघ ११ गतेदेखि २३ गतेसम्म औद्योगिक व्यापार महोत्सव सञ्चालन हुने मेला आयोजक मुल समितिका सचिव एवम् प्रवक्ता सञ्जिव घिमिरेले तहल्काखबरलाई बताए ।

मेलाको तयारी धेरै अगाडि बढेको प्रवक्ता घिमिरेले जानकारी दिएका छन् । ‘स्टल निर्माणको काम शुरु भएको छ । स्टल बुकिङ एकदमै उत्साहजनक छ । ४/५ दिनमै स्टल बुकिङ सकिन्छ । हाम्रो तार्गेट २०० स्टलको हो’ प्रवक्ता घिमिरेले भने–‘मोटामोटी १ सय ३० वटा जति बुकिङ भइसकेको छ, अरु हुने क्रममा छ ।’

महोत्सव उद्घाटन गर्न प्रमुख अतिथीको रुपमा राष्ट्रपति विद्यादेवी भण्डारी आउने कुराकानी चलेको छ । तर, पक्का भइनसकेको प्रवक्ता घिमिरेले जानकारी दिए ।

विर्तामोड उद्योग वाणिज्य संघको आयोजनामा विर्तामोड-५, स्थित धर्मकाँटा दक्षिण शुरु हुन लागेको महोत्सव १३ दिनसम्म चल्नेछ ।

मेलामा सवारी साधन, निर्माण सामाग्री, रेष्टुरेन्ट फुडस्टल, कृषि तथा घरेलु उत्पादन, दैनिक उपभोग्य सामाग्री, जुत्ता चप्पल तथा तयारी पोशाक, आइटी, मोवाइल, इलेक्ट्रोनिक्स, शिक्षा स्वास्थ्य, बैंक तथा वित्तिय संस्थाको स्टल रहने बताइएको छ ।

महोत्ससको आकर्षणको रुपमा अन्तर्राष्ट्रिय स्टलहरु, आकर्षक वाल उद्यान, लाइभ कन्सर्ट, फुड फेस्टिभल, सेल्फिजोन र फेशन शो रहनेछन् । महोत्सवमा स्थानीय तथा राष्ट्रियस्तरका कलाकारहरुको बेजोड प्रस्तुती पनि रहनेछ ।