माइबेनी मेलाको सुरक्षा फरक ढंगले गर्ने प्रहरीको योजना

विर्तामोड / झापाको कन्काइमाई नदी किनारमा लाग्ने माघे संक्रान्ति मेलाको सुरक्षा व्यवस्था गतसाल भन्दा फरक ढंगले गर्ने प्रहरीको योजना छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार माइबेनी मेलालाई सुरक्षित र व्यवस्थित बनाउन छुट्टै खालको सुरक्षा व्यवस्था मिलाइएको छ ।

माईमेला भर्न आउने दर्शक, भक्तजन र सर्वसाधारणको सुरक्षाका लागि मेला सञ्चालन समिति, धार्मिक संघसंस्था, क्लव, स्थानीयतहसँगको समन्वयमा विशेष सुरक्षा योजना तय गरिएको प्रहरीले जनाएको छ ।

मेलाको सुरक्षाको लागि वारीपारी गरेर १३५ जना प्रहरी परिचालन गर्ने, मेलाको वस्तुस्थिती ड्रोन क्यामेरा र सीसी क्यामेराको माध्यमबाट निरिक्षण गर्ने, सवारी आवागमन र ट्राफिक व्यवस्थापनलाई सुव्यवस्थित बनाउन कम्तिमा ५५ जना ट्राफिक प्रहरी परिचालन गर्ने, मेलामा हुलदंगा र झैझगडा हुन नदिन करिब २ किमि बरिपरि मादकपदार्थ बेचविखन र सेवन गर्न रोक लगाउने र सुरक्षाका लागि सादा पोसाकका प्रहरी पनि परिचालन गरिने प्रहरीको योजना छ ।

पूर्वको चर्चित माइबेनी मेला भर्न झापा मोरङ, सुनसरीलगायत पूर्वी र पश्चिमी पहाडी जिल्लाहरुबाट सयौको संख्यामा श्रदालु भक्तजन र सर्वसाधारण आउने गर्दछन् ।

मेला पुस ३० गतेदेखि माघ २ गतेसम्म लाग्नेछ । मेलामा मनोरञ्जनका साथै व्यापारीक, शैक्षिक, धार्मिक र विभिन्न प्रकारका खेल तमासाका स्टलहरु रहने गर्दछन ।