धनमाया सक्रिय महिला पत्रकारिता पुरस्कारको राशी बृद्धि

विर्तामोड / जयेन्द्रप्रसाद प्रसाई साहित्य सेवाकोषद्वारा स्थापित धनमाया सक्रिय महिला पत्रकारिता पुरस्कारको राशी बृद्धि गरिने भएको छ ।
कोषका अध्यक्ष गोपीकृष्ण प्रसाईको अध्यक्षतामा विर्तामोडमा सम्पन्न कार्यसमितिको बैठकले धनमाया सक्रिय महिला पत्रकारिताको पुरस्कारको राशी बृद्धि गरी २१ हजार पुर्याउने निर्णय गरेको महासचिव छविलाल खतिवडाले जानकारी दिए ।

एउटै मञ्चमा राखेर साहित्य र पत्रकारिता क्षेत्रका सर्जक स्रष्टा तथा पत्रकारलाई पुरस्कृत गर्दा प्रदान गरिने पुरस्कार राशी पनि समान रुपमा प्रदान गर्ने निष्कर्ष निकाल्दै यसअघि प्रदान गरिंदै आएको १५ हजार राशीलाई बढाएर २१ हजार पुर्याइएको हो ।

चुनौतिपूर्ण मानिएको पत्रकारिता क्षेत्रमा काम गर्न महिलालाई थप हौसला मिलोस भन्ने उद्देष्यले स्थापित पुरस्कारको राशीलाई यो वर्षदेखि समान गरिएको सचिव राजेन्द्र प्रसाईले जानकारी दिए ।

कोषले हरेक वर्ष दीर्घ साहित्य सेवातर्फ विष्णु चन्द्र पद्मा पुरस्कार र वर्षोत्कृष्ट कृति छनौट गरी जनही २१ हजार पुरस्कारको राशी प्रदान गर्दै आएको थियो ।

कोषले यही माघ महिनामा एक कार्यक्रमको आयोजना गरी पुरस्कार वितरण गर्ने तयारी गरिरहेको छ ।