प्रथम चतुरमानसिंह नकआउट फुटबल प्रतियोगिताको उपाधी आयोजकलाई

हल्दिबारी / प्रथम चतुरमानसिंह जिल्ला स्तरीय नकआउट फुटबल प्रतियोगिता अन्तर्गत आज सम्पन्न फइनल खेलमा हल्दिबारीको आयोजक बी १-० गोलले विजयी भएको छ ।

हल्दिबारी गाँउपालिका २, स्थित हल्दिबारी माध्यमिक विद्यालयको प्राङगढमा सम्पन्न फाइनलमा आयोजक चतुरमान फुटबल क्लव बीले मदरगाछ फुटबल क्लवलाई शुन्यका विरुद्ध १ गोलले पराजित गरेको हो ।

फाइनलमा आयोजकका तर्फबाट विनोद मेचेले १ गोल गरेका थिए । खेलको म्यान अफ द सिरिज पनि बिनोद मेचे नै घोषित भए भने उत्कृष्ट गोलकिपर आयोजक टीमका आमोश टुडु घोषित भए ।

म्यान अफ द शिरिज र उत्कृष्ट गोलकिपरलाई ट्रफी प्रदान गरिएको थियो ।

बिजेता टोली आयोजक बीले नगद ५१ हजार र ट्रफी प्राप्त गर्यो भने उपविजेता मदरगाछ टीमले ३१ हजार रुपैया र ट्रफी प्राप्त गरेको छ । विजेता र उपविजेता टोलीलाई समापन समारोहका प्रमुख अतिथी प्रदेश सभासद् पूर्णप्रसाद राजवंशीले पुरस्कार प्रदान गरेका थिए ।

हल्दिबारी वडा नं २ का तत्कालिन माओवादी पार्टी झापाका अगुवा नेता राज्यबाट बेपत्ता चतुरमानसिंह राजवंशीको नाममा पहिलो पटक जिल्ला स्तरीय फुटबल प्रतियोगिता सञ्चालन गरिएको हो । प्रतियोगितामा स्थानीय २१ वटा टीमले भाग लिएका थिए ।

प्रतियोगिता सञ्चालन गर्न प्रायोजक हल्दिबारी गाँउपालिकाले ५० हजार रुपैया र स्थानीय कामाक्षादेवी टी प्रोसेसिङ प्रालिले ३० हजार रपंैया उपलव्ध गराएर सहप्रायोजन गरेको थियो ।

प्रतियोगिता समापनका अवसरमा हल्दिबारी माध्यमिक विद्यालय र महेन्द्र ज्योती माध्यमिक विद्यालय विर्तामोड-१०, का छात्रा बीच सो म्याच खेलाइएको थियो ।

छात्रा बिचको सो म्याचमा महेन्द्र ज्योती माध्यमिक विद्यालय शुन्यका विरुद्ध १ गोलले विजयी भएको थियो ।

त्यसलगत्तै आयोजक समिति र कालि मन्दीर युवा क्लवबिच दोस्रो सो म्याच खेलाइएको थियो ।

समापनका अवसरमा बेपत्ता चतुरमानकी आमा आद्री राजवंशी, चतुरमानकी धर्मपत्नी पूर्व सांसद् पुजा खनाल राजवंशी र चतुरमानका सहयोद्धा टीका पोखरेललाई कार्यक्रमका प्रमुख अतिथी प्रदेश सांसद् पूर्णप्रसाद राजवंशीले दोसल्ला ओडाएर सम्मान गरेका थिए ।

सो अवसरमा प्रमुख अतिथी राजवंशी, पूर्व संविधानसभा सदस्य मोहन टुडु, पूर्व सभासद् पूजा खनाल राजवंशी, हल्दिबारी माविका प्रधानाध्यापक टंक पाख्रिन, पुकारसिंह राजवंशी, नेपाली कांग्रेस हल्दिबारी गाँउपालिकाका सह-संयोजक गंगा प्रसाई, चतुरमानका सहकर्मी टीका पोखरेल लगायतले चतुरमासिंह राजवंशीको व्यक्तित्व र राजनीतिक योगदानबारे चर्चा गरेका थिए ।

उनीहरुले बेपत्ता चतुरमानको अवस्था अविलम्ब सार्वजनिक गर्न सरकार समक्ष जोडदार माग गरे ।

चतुरमानलाई तत्कालिन सरकारले २०५९ साल पुस १३ गते भारतको सिलिगुडीबाट गिरफ्तार गरी झापाको चारआली व्यारेकमा राखेको थियो । उनी १६ वर्षदेखि त्यहिबाट बेपत्ता भएका छन् ।

समापन कार्यक्रममा हल्दिबारी वडा नं २ का अध्यक्ष राजेन्द्र योङ्हाङ, वडासदस्य, नेपाल कम्युनिष्ट पार्टी नेकपा हल्दिबारीका कार्यदल सदस्य याम राई, भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठलगायत स्थानीय साजवंशी समाजका अगुवाहरुको उपस्थिति थियो ।

आयोजक समितिका सल्लाहकार खगेन राजवंशीले स्वागत गरेको कार्यक्रमको सञ्चालन रविन राजवंशी गरेका थिए ।