वातावरण मन्त्रालयका सचिव कुटे प्रदेश २ का मन्त्रीले

प्रदेश समाचार

धनुषा / प्रदेश २ का आर्थिक मामिला तथा योजना मन्त्री विजय यादवले प्रदेश मन्त्रालयका सचिव विद्यानाथ झालाई कुटपीट गरेका छन् ।

आइतबार दिउँसो ३ बजे आफ्नै कार्यकक्षमा बोलाएर आफूले भनेको एनजीओलाई कार्यक्रम नपारेको भन्दै मन्त्री यादवले सचिव झालाई कुटपीट गरेका हुन ।  झा पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव हुन ।

आफूले भनेको एनजीओलाई कार्यक्रम नपारेको भन्दै मन्त्री यादवले आफूलाई कार्यकक्षमै बोलाएर प्रदेश २ का सभामुख सरोज यादवकै अगाडि झापड तथा लातले हानेको सचिवको गुनासो छ ।

मन्त्री यादवले सभामुखको अगाडी गालामा झापट हानेको र पछि अर्को कोठामा लगेर हात र लात्तले हानेको सचिव झाले बताए ।

मन्त्री यादवले दुईपटक कुटपिट गरेर कोठाबाट बाहिर निकालेको सचिव झाको गुनासो छ । मन्त्रीबाट कुटिएका सचिव झालाई मन्त्रीकै निर्देशनमा प्रहरीले दुई घण्टा नियन्त्रणमा लिएका थिए ।

प्रहरी नियन्त्रणमा रहेका कुटिएका सचिवको गालामा निलडाम देखिएको छ । केही बेरपछि प्रहरीले जनकपुर अञ्चल अस्पतालमा लगेर सचिव झाको स्वास्थ्य परीक्षण समेत गरेको छ ।

सचिव कुटपिट भएपछि कर्मचारीहरुले केही बेर मन्त्रालय अगाडि धर्ना पनि दिएको समाचार छ । गरिबी निवारण कार्यक्रम अन्तर्गत क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालनका लागि मन्त्रालयमा १ सय ९३ वटा गैरसरकारी संस्थाहरुले आशय पत्र दिएको मध्ये ४० वटा संस्था छनोट सचिव झाले बताए ।

मन्त्री यादवले भनेको एनजीओको नाम छनोटमा नगरेकाले नतिजा परिवर्तण्न गर्न दबाब दिएको र आफूले नतिजा परिवर्तना नहुने बताएपछि योजनाबद्ध तरिकाले मन्त्रीले बोलाएर कुटपिट गरेको उनको भनाइ छ ।
उज्यालोअनलाइनमा खबर छ ।