झापामा मनाईयो भाका दिवस

समाचार समाज समुदाय

बिर्तामोड  / प्रत्येक वर्षको पुष २९ गते मनाईदै आएको भाका दिवस आज झापामा भब्यताका साथ मनाईएको छ ।

कन्काई नगरपालिका ९ घैलाडुब्बामा कोचिला गाभुर फ्रन्टको आयोजना तथा कोच केन्द्र र आदिवासी जनजाति महासंघ कन्काई ९ को सहआयोजनामा राजवंशी समुदायको विशेष परिकार भाका पकाएर दिवस मनाइएको हो ।

कार्यक्रममा सहभागीहरुलाई निःशुल्क भाका खुवाइएको थियो । राजवंशी समुदायले खाने बिशेष परिकार भाकाको संरक्षण तथा व्यवसायीकरणका लागि आयोजना गरिएको कार्यक्रममा करिब ५ सय जनाको सहभागिता रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि कन्काई नगरपालिकाका मेयर राजेन्द्र कुमार पोख्रेलले हामीले सधैँ खाने खाजा फास्टफुडहरु खानु भन्दा पनि भाका स्वास्थ्यका लागि फलदायी रहेको बताए ।

यसलाई सबैले खाजाका रुपमा लिन सकिने पोखरेलले बताए । कार्यक्रममा सहभागी सबैले स्टलहरुमा बनाउँदै गरेको भाकाको स्वाद लिएका थिए ।

कोचिला गाभुर फ्रन्टका उपाध्यक्ष मोहन राजवंशीको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथिमा कन्काई नगरपालिकाका मेयर राजेन्द्रकुमार पोखरेल र बिशेष अतिथिमा उपमेयर मञ्जु प्रसाई रहेका थिए ।

त्यस्तै, कन्काई नगरपालिका ९ का वडाध्यक्ष प्रेम राजवंशी, कोच केन्द्रका उपाध्यक्ष धर्म राजवंशी, राजवंशी धर्म संस्कार समितिका अध्यक्ष लखनलाल राजवंशी, केजिएफका सल्लाहकार संयोजक पर्शुराम राजवंशी, शिक्षक फ्रन्टका अध्यक्ष कुवेर राजवंशी, झापा मिडिया हाउसका सिईओ योगेस राजवंशी लगायतको आतिथ्यता रहेको थियो ।

कार्यक्रमको सञ्चालन कोचिला गाभुर फ्रन्टका अध्यक्ष अभय राजवंशीले गरेका थिए ।

राजवंशी समुदायले खाजाका रुपमा प्रयोग गर्दै आएको भाका अहिले सबैका लागी मिठो खाजाका परिकार बन्दै गएको छ ।

चामलको पिठो द्धारा बनाईने भाकाले व्यवसायिक रुप लिएको छ । स्वास्थ्यका लागि अत्यन्त लाभदायक मानिने भाका झापा लगायत अन्य जिल्लाका प्रत्येक गाँउ सहरमा अहिले पाईन थालेको छ ।