महिलालाई ढोके चकटी (डोर म्याट) निर्माण तालिम

विर्तामोड / समाज र देशको विकास हुनका लागि महिला सशक्त हुनुपर्नेमा सोमबार आयोजित एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् ।

महिला उद्यमी संघ नेपालको आयोजनामा सञ्चालित ५ दिने ढोके चकटी (डोर म्याट) निर्माण तालिमको उद्घाटन कार्यक्रममा बोल्दै वक्ताहरुले सृष्टिकर्ता महिला हरेक क्षेत्रमा सशक्त र समृद्ध भएमात्र देश समृद्धिको यात्रामा अघि बढ्नेमा जोड दिएका हुन् ।

कार्यक्रममा महिला सक्रिय भए आफूहरु सधैं साथमा रहने तथा महिला र पुरुषबीच समान धारणा राखेर अघि बढ्ने विर्तामोड नगरपालिका वडा नं.–४ र ५ का जनप्रतिनिधिहरुले प्रतिवद्धता जनाएका छन् ।

कार्यक्रमका प्रमुख अतिथि विर्तामोड नगरपालिका वडा नं.–४ का वडाध्यक्ष कुलप्रसाद संग्रौलाले तालिममा सहभागीलाई सीप सिकेर उद्यमशील बन्न आग्रह गर्दै महिलाको सशक्तिकरण र क्षमता अभिबृद्धिमा आफूले सदैव सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।

महिला उद्यमी संघ नेपाल झापाकी अध्यक्ष गोमा भट्टराईको अध्यक्षता तथा कुलप्रसाद संग्रौलाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा एबीसी नेपाल झापाकी अध्यक्ष कञ्चना ढकाल सिटौला, विर्तामोड नगरपालिका वडा नं.–५ का वडा सदस्य ढाँचाराज कडरिया, वडा नं.–४ की महिला वडा सदस्य कविता थापा, वीरता जेडी जेसीज सन् २०१८ की अध्यक्ष नम्रता ढकाललगायतले तालिम सिकेर उद्यमी बन्न आग्रह गर्दै उत्पादित सामग्रीको बजारका लागि आफूले पनि सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए ।

सर्मिला अधिकारीले स्वागत गरेको कार्यक्रमको सञ्चालन नैनकला भट्टराईले गरेकी थिइन् ।

महिला लक्षित पाँचदिने तालिममा सहभागीलाई सर्मिला अधिकारीले प्रशिक्षण दिने बताइएको छ ।