अनुसा राई हत्या प्रकरण: वलिमान र पदमकुमारीलाई जन्मकैद फैसला

धरान/ धरान १६ को चर्चित अनुसा राईको जर्बजस्ती करणी तथा कर्तव्य ज्यान मुद्दामा धर्मपिता वलिमान र उनकी श्रीमति पदमकुमारी राईलाई जन्मकैद फैसला भएको छ ।

सुनसरी जिल्ला अदालतले करिब २२ महिनापछि मुद्दाको अन्तिम फैसला गर्दै दुवै जनालाई सोमबार जन्मकैदको फैसला सुनाएको हो ।

मुद्दाको सोमबार अन्तिम सुनुवाई पछि ७ नं इजलाशका जिल्ला न्यायाधिश खिमनन्द भुषालको इजलाशले राई दम्पत्तिलाई जन्मकैदको फैसला गरेको अदालत स्रोतले जानकारी दिएको छ ।

दुवैलाई मुलुकी ऐन ज्यान सम्बन्धी महल अनुसार जन्मकैद फैसला भएको हो । जसअनुसार राई दम्पत्ति २० बर्ष जेल बस्नुपर्ने हुन्छ ।

दुवैलाई धर्म छोरी बनाएर राखेकी बालिका अनुसाको करणी र हत्या गरेको आरोप लागेको थियो । उनीहरुले अनुसा आफै बिष पिएर आत्महत्या गरेको दाबी गर्दे छरछिमेकी कसैलाई थाह नदिई अन्तिम दाह सँस्कार गर्न लागेपछि घटना रहस्यमय बनेको थियो ।

त्यसपछि स्थानीयबासी, अधिकारकर्मीहरुले घटनाप्रति ध्यानाकर्षण जनाउदै निष्पक्ष छानबिनको माग गरेका थिए । यो बिषयमा स्थानीयबासी, अधिकारकर्मीहरुले सडक आन्दोलन गरेपछि मात्र प्रहरीले घटनाको अनुसन्धान थालेको थियो ।

आन्दोलनको क्रममा राई दम्पत्तिको घरमा तोडफोड र आगलागी पनि भएको थियो । अनुसाको २०७३ फागुन १६ गते हत्या भएको थियो ।

जिल्ला अदालतले २०७३ चैत १४ मा राई दम्पत्तिलाई पुर्पक्षको लागि थुनामा राख्ने आदेश दिएको थियो ।