माघे संक्रान्ति पर्व देशभर मनाइदै

धर्म -दर्शन समाचार सस्कृति

झापा / झापाको कन्काइ नगरपालिका सुरुङ्गास्थित कन्काई नदी किनारमा आज पूर्वको चर्चित माइबेनी मेला लाग्दैछ । कन्काई माइमा विहान सबेरैदेखि मकर स्नान गर्ने भक्तजनहरुको बाक्लो उपस्थिति छ ।

कन्काइ नदीमा मकर स्नान गर्न र मेला भर्न भक्तजनहरु टाढा टाढाबाट अघिल्लै दिनदेखि उपस्थित हुने गर्दछन् । माइ मेलामा झापा, मोरङ, सुनसरी, इलाम ताप्लेजुङ, पाँचथरलगायत जिल्लाबाट भक्तजनहरु आउने गर्दछन् ।

कन्काई माइलाई हिन्दु धर्मावलम्बीहरुले पवित्र स्थलको रुपमा मान्ने गर्दछन् । सौर्यमानको हिसाबले माघ महिना शुरु हुने पहिलो दिनलाई माघे संक्रान्ति भनिन्छ ।

मकर राशिको नामबाट माघे संक्रान्तिलाई मकर संक्रान्ति पनि भन्ने गरिन्छ । माघे संक्रान्तिको दिन मकरस्नान गर्नाले विभिन्न रोग व्याधी हट्ने धार्मिक विश्वास छ ।

आज देशका विभिन्न स्थानका पवित्र नदी एवं त्रिवेणीमा स्नान, जप, तप, ध्यान र दान गरी घ्यू, चाकु, तरुल एवं खिचडी खाई माघे  सङ्क्रान्ति पर्व देशभर मनाइँदैछ ।

सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गरी उत्तरायण शुरु हुने भएकाले माघ १ गतेलाई मकर सङ्क्रान्ति भनिन्छ । माघ १ गतेबाटै उत्तरायण शुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन् । उत्तरायण शुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्य दायक मानिन्छ ।

यसैले आजको दिन देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडीलगायत स्थानमा माघ स्नान गर्ने भक्तजनको भीड लाग्छ । यी स्थानमा आजका दिन भव्य मेलासमेत लाग्ने गर्छ ।

सूर्य दक्षिणबाट उत्तर लाग्दाको दिनलाई वैदिक दर्शनका विभिन्न शास्त्रमा पवित्र दिन मानिएको छ ।

उत्तरायण शुरु भएपछि शुभ काम, यज्ञ यागादि गर्न शुभ मानिएको छ । उत्तरायण शुरु हुने दिन गुरु पुरोहितबाट तिलक लगाउने शास्त्रीय मान्यतासमेत छ ।

माघे सङ्क्रान्तिदेखि साउने सङ्क्रान्तिसम्म सूर्य उत्तरको बाटो हिँड्ने भएकाले यो छ महीनाको समयलाई उत्तरायण भनिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष एवं धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम बताउछन् ।

आजका दिन बिहानै तीर्थस्थलमा गई स्नान गरेर तिल दान गर्नाले सुन दान गरे सरहको पुण्य प्राप्त हुने धार्मिक विश्वास छ ।

धर्मसिन्धुमा माघ १ मा घ्यू, चाकु, तिलका परिकार, खिचडी नखाने, दान नगर्ने, जलाशयमा गई स्नान नगर्ने, ध्यान नगर्ने व्यक्ति जीवनभर रोगी हुने उल्लेख छ । स्नान, दान, व्रत, ध्यान गर्ने व्यक्तिले पुण्य प्राप्त गरी मनोकामना पूर्ण हुन्छ भन्ने शास्त्रीय मान्यता रहेको छ ।

माघे सङ्क्रान्तिका दिन घ्यू, चाकु, तिलका परिकार, तरुल, पालुङ्गो, खिचडी आदि खाने चलन छ । यी परिकारले जाडोमा न्यानो प्रदान गर्ने भएकाले चिसो समयमा पर्ने पर्वमा ताता परिकार खाने गरिएको हो । यी खानाले त्रिदोष नाश हुने धार्मिक विश्वास छ ।

तरुललाई पुस मसान्तका दिन उसिनेर माघ १ गते खाने परम्परा छ । यसलाई लोकोक्तिअनुसार ‘पुसमा पाके माघमा जाके’ भनिन्छ ।