घुससहित आमा छोरी रंगेहात पक्राउ

काठमाडौं / अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कम्पनी रजिष्ट्रारको कार्यालय, त्रिपुरेश्वर काठमाडौंमा कार्यरत सहायक रजिष्ट्रार र उनकी छोरीलाई १ लाख घुस रकमसहित पक्राउ गरेको छ ।

अख्तियारको केन्द्रीय कार्यालयबाट खटिएको टोलीले सोमबार सहायक रजिष्ट्रार गीताकुमारी पन्थी र उनकी छोरी पोषणलाई रंगेहात पक्राउ गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता सहसचिव रामेश्वर दंगालले त्रिपुरेश्वरमा सञ्चालित एक विद्यालयको राजश्व रकम छुट गराउने नाममा पन्थीले घुस मागेको सूचनाका आधारमा उनलाई नियन्त्रणमा लिएको जानकारी दिएका छन् ।

अख्तियारले सहायक रजिष्ट्रार पन्थीकी छोरीलाई समेत नियन्त्रणमा लिएको छ ।

पन्थीले घुस रकम छोरीलाई राख्न दिएकाले दुवै जनालाई काठमाडौं महानगरपालिका–१४ स्थित एनएमबी बैंकको पार्किङस्थलबाट पक्राउ गरिएको प्रवक्ता दंगालले बताए । अनलाइनखबरबाट