योग दिवस मनाइयो

काठमाडौं / आज चौंथो राष्ट्रिय योग दिवस विभिन्न कार्यक्रम र योगाभ्यास गरि मनाइदै छ ।

‘शान्ति र समृद्धिका लागि योग’ भन्ने मूल नाराका साथ विभिन्न कार्यक्रम गरी योग दिवस मनाइएको हो । चारवर्षदेखि योग दिवस मनाउन थालिएको हो ।

यसै अवसरमा उपप्रधानमन्त्री एवम् स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादव, स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. सुरेन्द्रकुमार यादवसहितको उपस्थितिमा आज काठमाडौंमा योगाभ्यास कार्यक्रम आयोजना गरियो ।

कार्यक्रममा योगाभ्यासको आवश्यकता र औचित्यको बारेमा प्रकाश पारिएको थियो ।

आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले आयोजना गरेको कार्यक्रममा उपप्रधानमन्त्री यादवले सबै प्रकारको रोगबाट मुक्ति मिल्ने योगाभ्यास गाउँगाउँमा गर्न जरुरी रहेको बताए ।

उनले योगले शारीरिक तथा मानसिक रुपमा पनि नागरिकलाई स्वस्थ बनाउने भएकाले सरकारले यसलाई राष्ट्रिय दिवसको रुपमा मनाउन थालेको जानकारी दिए ।