सुख्खा बन्दरगाहले अन्तर्राष्ट्रियस्तरको व्यापारिक कारोवार विस्तार गर्छ : प्रम ओली

राष्ट्रिय समाचार

काठमाडौँ / प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रियस्तरको सुख्खा बन्दरगाहले अन्तर्राष्ट्रिय स्तरकै व्यापारिक कारोवारको सञ्जाल विस्तार गर्ने बताएका छन् ।

विरोधकाबिच आज चोभारस्थित सुक्खा बन्दरगाहको शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले चोभारमा निर्माण गर्न लागिएको उक्त बन्दरगाह सञ्चालन भएपछि निकासी पैठारी सहज हुने बताए ।

मुलुकमा आर्थिक विकास र समृद्धिका लागि उत्पादन वृद्धि गर्नुपर्ने बताउँदै प्रधानमन्त्रीले विज्ञान प्रविधिको प्रयोग गरी जनताको सिप अभिवृद्धि गर्न सकेमा उनीहरुले गर्ने उत्पादनले आयात प्रतिस्थापन गर्न सक्ने विश्वास व्यक्त गरेका छन् ।

यो सरकार जनताको भएको बताउँदै प्रधानमन्त्री ओलीले आर्थिक विकास तथा उन्नतिका लागि विकास निर्माणका कार्यलाई अगाडि बढाउदै स्थानीयवासीको जायज माग सरकारले पूरा गर्नेमा जोड दिए ।

बन्दरगाह साविक हिमाल सिमेन्ट कम्पनी रहेको स्थानमा करीब रु दुई अर्बको लगानीमा करीब डेढ वर्षको अवधिमा निर्माण पूरा गरिने बताइएको छ ।

बन्दरगाह निर्माणमा अवरोध पु¥याउने ५४ स्थानीयवासीलाई प्रहरीले पक्राउ गरेको जनाइएको छ ।