रेडक्रसको स्वर्ण महोत्सवमा १३४ जना सम्मानित

समाचार समाज

विर्तामोड / नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा झापाले आज दुई महत्वपूर्ण कार्यक्रम सम्पन्न गरेको छ ।

पर्यटकीय क्षेत्र जामुनखाडी सिमसार क्षेत्रमा शाखाले ४५ औं जिल्लासभाका साथै स्वर्ण महोत्सव तथा सम्मान कार्यक्रम सम्पन्न गरेको हो ।

पूर्व गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाको प्रमुख आतिथ्यमा सम्पन्न स्वर्ण महोत्सव तथा सम्मान कार्यक्रममा रेडक्रस जिल्ला शाखाका पूर्वसभापतिहरु, पूर्व केन्द्रीय सदस्य, संस्थापक पदाधिकारी, पूर्व कार्य समिति, जग्गादाता, भवन निर्माता, एम्बूलेन्स दाता, रक्तदाता तथा कर्मचारी सहित एकसय ३४ जनालाई सम्मान गरिएको थियो ।

१२ वटा संस्थागत सम्मान गरिएको कार्यक्रममा सर्वोत्कृष्ट नेपाल रेडक्रस सोसाइटी उपशाखा लखनपुर, दोस्रोमा भद्रपुर तथा तेस्रो भएका घैलाडुब्बा र हल्दिवारी उपशाखालाई उत्कृष्ट उपशाखाका रुपमा सम्मान गरिएको थियो ।

रेडक्रसका महामन्त्री चन्द्र चुडालले सञ्चालन गरेको कार्यक्रममा पूर्व सांसद सुधिरकुमार शिवाकोटी, प्रदेशसभा सदस्यहरु ओमप्रकाश सरावगी, एकराज कार्की, जिल्ला समन्वय समिति झापाका संयोजक सोम पोर्तेल, नेकपाका जिल्ला अध्यक्ष चिन्तन पाठक, नेपाली कांग्रेसका पूर्व उपसभापति देउमान थेवे, मेची नगरपालिकाका प्रमुख विमल आचार्य, झापा गाउँपालिकाका अध्यक्ष जयनारायण शाह, बाह्रदशी गाउँपालिका अध्यक्ष खड्कप्रसाद राजवंशी, रेवतीरमण नेपाल लगायतको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि सिटौलाले रेडक्रसले दैविक विपत्ती तथा सामाजिक क्षेत्रमा पुर्याएको योगदानको प्रशंसा गर्दै रेडक्रसको महत्व अझ बढेर गएको धारणा राखेका थिए ।

त्यसैगरी, नेपाल रेडक्रस सोसाइटी केन्द्रीय सदस्य भक्त खवासको प्रमुख आतिथ्यमा ४५ औं जिल्लासभा सम्पन्न भएको हो ।

शाखा अध्यक्ष लोकराज ढकालको अध्यक्षता रहेको दुवै कार्यक्रम अन्तरगत ४५ जिल्लासभामा संस्थाको बार्षिक प्रतिवेदन महामन्त्री चन्द्र चुडालले प्रस्तुत गरेका थिए भने एक करोड २६ लाख २१ हजार आठसय १९ रुपैयाँ बराबरको आर्थिक प्रतिवेदन कोषाध्यक्ष ओमप्रकाश गौतमले प्रस्तुत गरेका थिए ।

प्रमुख अतिथि खवास, सहारा नेपालका कार्यकारी निर्देशक महेन्द्रकुमार गिरीले शुभकामना मन्तव्य राखेको कार्यक्रममा उपाध्यक्ष मित्रदेव काफ्लेले स्वागत तथा उपमन्त्री प्रकाशचन्द्र खरेलले सञ्चालन गरेका थिए ।