‘आधारहीन प्रचार गरियो’ : सौरभ ग्रुप

काठमाडौं / सौरभ ग्रुपले खोज पत्रकारिता केन्द्रमार्फत् सार्वजनिक भई विभिन्न सञ्चारमाध्यमले प्रकाशन तथा प्रसारण गरेको समाचारको खण्डन गरेको छ। शुक्रबार आयोजित पत्रकार सम्मेलनमा सौरभ ग्रुपका अध्यक्ष विष्णु न्यौपानेले, आधारहीन, भ्रामक समाचार प्रकाशित गरेर उनले नेतृत्व गरेको व्यावसायिक समूहको मानमर्दन गरेको आरोप लगाए।

‘हामीले ट्याक्स हेभन त के कर लाग्ने देशबाट पनि विदेशी लगानी ल्याएका छैनौं’, अध्यक्ष न्यौपानेले भने, ‘अर्कोतर्फ, समाचारमा उल्लेख भएजस्तो हाम्रो समूहले गुट्का, साबुन, सुपारीजस्ता उत्पादनसँग सम्बन्धित कुनै पनि उद्योग तथा आयातनिर्यातको कारोबार गर्दैन।’

उनले समाचारमा उल्लेख गरिएको ‘ग्लोबल टेक्नोलोजी एन्ड ट्रेडमार्क लिमिटेड’ भन्ने कम्पनीसँग सौरभ ग्रुपको कुनै पनि लगानी, कारोबार, चिनाजानी र सम्पर्क नरहेको भन्दै एकपक्षीय ढंगले कपोलकल्पित समाचार खोज पत्रकारिता केन्द्रमार्फत् सम्प्रेषण भएको र व्यावसायिक सञ्चारमाध्यमले समेत कुनै परीक्षण नगरी आक्षेप लगाएको भन्दै दुःख व्यक्त गरे।

‘स्वस्थ र पारदर्शी हिसाबले सरकारलाई कर तिरेर व्यवसाय गरिरहेका छौं’, न्यौपानेले भने। न्यौपानेको परिवार २०२५ सालदेखि व्यवसायमा रहेको उनले बताए। ‘यति लामो समयदेखि व्यवसाय गर्दै निरन्तर कर चुक्ता गर्दै आएकोमा हामीलाई कर फछ्र्यौट आयोगबाट कर छुट लिएको भनेर दुष्प्रचार गरिएको छ। कर कार्यालयले नै सौरभ फोटो इन्टरनेसनलको नाममा भुलबस इन्ट्री भएर कर बक्यौता देखिएको भनेर आफ्नो गल्ती सच्याइसकेको अवस्थामा सत्यतथ्य नै नखोजी एकोहोरो ढंगले समाचार सम्प्रेषण भयो’, उनले भने। उनले सौरभ ग्रुपले मर्यादित व्यवसाय गर्न चाहेकै कारण सम्भावना देखेर पनि ब्रुअरी, मदिरा उद्योगमा लगानी नगरेको प्रष्ट्याए।

उनले धागो, स्टिलजस्ता उत्पादनको निकासीमा अहिले पनि सौरभ ग्रुप अग्रपंक्तिमा रहेको भन्दै करोडौं रुपैयाँ कर दाखिला गर्ने कम्पनीले १३ लाख रुपैयाँ कर चुक्ता गराउन कर फछ्र्यौट आयोगमा जाने बाध्यता नरहेको बताए। ‘कर चुक्ता गर्न जाँदा कर कार्यालयले भुलवश इन्ट्री भएको रहेछ, यसलाई हटाउन फछ्र्यौट आयोगमार्फत् आउनुस् भनेपछि त्यो प्रक्रियामा गएका हौं’, उनले भने। न्यौपानेले कर कार्यालयसँग सत्यतथ्य बुझ्नसमेत आग्रह गरे।

भक्तपुरको १७ तले भवन पहिले आवासीय (अपार्टमेन्ट) बनाउने हिसाबले निर्माण सुरु गरेको भए पनि पछि त्यसलाई होटेल बनाउने सोचले भक्तपुर नगर विकाससँग सोही अनुसार स्वीकृति लिई ठिमी नगरपालिकासँग होटेल सञ्चालनका लागि स्वीकृति लिन आवेदन दिएको र स्वीकृत हुने क्रममा रहेको उनले प्रष्ट पारे। ‘उक्त भवनमा कही कतै अवैध र विदेशी लगानी आएको छैन। उक्त भवनको अगाडिपट्टिको पाँच तला ठिमी नपरपालिकाबाट नक्सापास भएको र पछाडिको १७ तला भवन पहिले नै नगर विकासबाट आवासीय भवनका लागि योजना अनुमति लिएर निर्माण भएको हो’, न्यौपानेले भने।

त्यस्तै उनले समाचारमा उल्लेख भएजस्तो लक्ष्मी सिमेन्ट, केपी सिमेन्ट, घोराही सिमेन्टसँग सौरभ ग्रुपका कुनै पनि सञ्चालकको सम्बन्ध नरहेको स्पष्ट पारे। ‘हाम्रो समूहको सर्वोत्तम सिमेन्टमा आएको हङकङस्थित कृष्ण होल्डिङ्सका ३८ प्रतिशत सेयर रहेकोमा सो कम्पनीले आफ्नो सेयर अन्य नेपालीलाई नै बेचेर फिर्ता भइसकेको छ’, उनले भने, ‘हामीसँग कुनै पनि विदेशी लगानी छैन।

कृष्णा होल्डिङ्सले उद्योग विभाग र नेपाल राष्ट्र बैंकको स्वीकृति लिएर सर्वोत्तम सिमेन्टमा लगानी गरेको थियो। अहिले उक्त कम्पनी पनि सेयर बेचेर फिर्ता भइसकेको छ।’ उनले कृष्ण होल्डिङ्सकै लगानीमाथि शंका भए यसको अध्ययन गर्न राष्ट्र बैंकसँग लगानी र लगानी फिर्ताको स्वीकृतिबारे बुझ्न र उक्त कम्पनीमा न्यौपाने परिवारको संलग्नता भए सो पनि खोज्न आग्रह गरे।

अन्नपूर्णपोष्ट