मेक्सिकोमा तेल पाइपलाइन विस्फोट ६६ जनाको मृत्यु सयौ घाइते

देशबाहिर समाचार

बीबीसी / मेक्सिकोमा एउटा तेलको पाइपलाइन विस्फोट हुँदा कम्तीमा ६६ जनाको ज्यान गएको छ भने कैयौँ घाइते भएका छन्।

मध्यमेक्सिकोस्थित ईडाल्गो राज्यमा रहेको एउटा तेल प्रशोधन केन्द्रनजिकै स्थानीय समय अनुसार शुक्रवार राति विस्फोट हुँदा सयौँ मानिसले सो पाइपबाट चुहिरहेको तेल सङ्कलन गरिरहेका थिए ।

घटनापछि राष्ट्रपति एन्ड्रेस म्यानवेल लोपेश ओर्बयाडोरले तेल चोरी रोक्नका लागि प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्

बीबीसीका अनुसार घटनास्थलमा एउटा ठूलो आगोको लप्का र आत्तिरहेका मानिसहरू आगोबाट भागिरहेको देख्न सकिन्थ्यो ।

सरकारी स्वामित्वको प्रेमेक्स पेट्रोलियम कम्पनीले पाइपलाइनबाट अवैध रूपमा तेल निकाल्ने कार्यका कारण आगो लागेको जनाएको छ ।

गत डिसेम्बरमा मेक्सिकोका राष्ट्रपतिले तेलचोरी नियन्त्रण गर्न एउटा महत्वपूर्ण कदम थालिएको बताएका थिए । तर, त्यस्तो सरकारी योजनाकै कारण कैयौँ राज्यमा तेलको चरम अभाव उत्पन्न भएको बताइन्छ ।

सरकारी अधिकारीहरूका कारण तेलचोरीबाट गत वर्षमात्रै राज्यलाई तीन अर्ब डलर बराबरको नोक्सानी भएको थियो।