आइईई प्रतिवेदन बाहिर उत्खनन भए अनपाले कारबाही गर्ने

सागर गौतम-
अर्जुनधारा /अर्जुनधारा नगरपालिकाको आयोजनामा बसेको सरोकरवालाहरुको नगरस्तरीय बैठकले प्रारम्भिक वातावरणीय परीक्षण (आईईई) प्रतिवेदनले निषेध गरेको स्थानमा अवैध रुपमा नदीजन्य सामाग्रीको उत्खनन गरेको पाइएमा अनुगमन समितिको सिफारिसमा कानुनी कार्वाही गर्ने जनाएको छ ।

नगरपालिकाको सभाकक्षमा बसेको सर्वपक्षीय सरोकारावाला बैठकमा जथाभावी हुने खोलाको उत्खननलाई रोक्न प्रतिवेदनले व्यवस्था गरेअनुसारको नदीजन्य सामाग्री ठेक्का सम्झौता भएको नगर प्रमुख हरिकुमार रानाले जानकारी दिए ।

सोही अनुसार सबैलाई सहयोगका लागि अनुरोध गरीएको पनि नगर प्रमुख रानाले बताए । बैठक अर्जुनधाराको भावी कार्यक्रममा समेत केन्द्रित रहेकोे थियो ।

बैठकमा पूर्व मन्त्री, पूर्व सासद्, प्रदेश, जिल्ला र नगरमा प्रतिनिधित्व गर्ने मुख्य राजनीतिक नेतृत्व, संचारकर्मी, उद्योगी र सुरक्षा निकायका प्रमुख तथा सरोकरावाला कार्यालय प्रमुखलगायतको सहभागिता थियो ।

बैठकमा बोल्दै पूर्व सामान्य प्रशासन मन्त्री केशवकुमार बुढाथोकीले नगरलाई स्मार्ट सिटीको अवधारणा अनुसार आधुनिक नमूना बजार निर्माण गर्नुपर्ने सुझाव दिए । उनले अर्जुनधारा–शनिश्चरे बजारमा ढल व्यवस्थापनको लागि नाला निर्माण गर्नुपर्ने बताए ।

त्यसका लागि दास पुल क्षेत्रसम्म मर्मत व्यवस्थापन गर्नुपर्ने बताउँदै पूर्व मन्त्री बुढाथोकीले शनिश्चरे बजारमा सडक विस्तार मापदण्ड तोक्नु पर्ने आवश्यकता औंल्याए ।

नेकपाका केन्द्रिय सदस्य एंव प्रदेश–१ अध्यक्ष देवराज घिमिरेले नगरको विकासका लागि सवैजना एकढिक्का भएर लाग्नु पर्नेमा जोड दिए । बहुसंख्यक जनताको हितका लागि निर्वाचित सरकारले जुनसुकै कदम चाल्नुपर्ने धारणा राखे ।

त्यस्तै, नेपाली काग्रेसका झापा सभापति उद्धव थापाले शनिश्चरे बजारको मुहार फेर्न बजारमा देखिएका टहरा, ठेलालाई व्यवस्थापन गरी अर्जुनधारा मन्दीर छेउको सडक र पुल निर्माण गर्नुपर्ने बताए ।

सभापति थापाले शनिश्चरे बाहिरका सडकहरु चौडा विस्तार भैइरहेको तर मुख्य बजार साघुँरो भएको हुँदा यथासिघ्र नगरले मापदण्ड अनुसार विस्तारको काम सुरु गर्नुपर्ने बताए ।

संविधान सभाका सदस्य प्रेम गिरीले आइईई प्रतिवेदन दिगो विकासको अवधारणा अनुरुप कार्ययोजना भएकोले राष्ट्रपति चुरे तराई मधेस कार्यक्रमले वातावरणमैत्री विकास, प्रकोप न्युनीकरणको उपायहरुलाई अवलम्वन गरेको बताए ।

सडक सिनियर डिभिजन प्रमुख श्यामकुमार यादवले विर्तामोड शनिश्चरे सडक चार लेन सहित ७० फिट विस्तार गर्नुपर्ने आवश्यकता औल्याए । उनले शनिश्चरे बुधबारे सडक दुई लेनको स्वीकृत भइसकेको पनि जानकारी दिए ।

भूगर्वविद यदुनाथ तिम्सिनाले नेपालमा चारकिला गाढ्दै जिपिएस पोइन्ट लिई नदीजन्य सामाग्रीलाई व्यवस्थित गर्ने अर्जुनधारा नगरपालिका पहिलो भएको बताए । प्रतिवेदन अनुसार चुस्त दुरुस्त अनुगमन भएमा नदीलाई कुनै क्षति नपुग्ने तिम्सिनाको भनाइ छ ।

नगर प्रमुख रानाको अध्यक्षतामा बैठक बसेको थियो । अर्जुनधारा नगरपालिकाको प्रवेशद्धार धार्मिक महत्व उजागर हुनेगरी निर्माण गर्ने, सडक मापदण्ड अनुसार बजार भित्रका घर, टहरा हटाउन सार्वजनिक सूचना जारी गर्ने, नगरको विकासमा राजनीतिक दल, निजी क्षेत्र, नागरिक समाज र उद्योगी व्यवसायी सबैले सहयोग गर्ने बैठकले निर्णय गरेको वरिष्ठ योजना अधिकृत हिमराज सेडाईले जानकारी दिए ।

सरोकारवालाहरुले पिछडिएको क्षेत्रमा जीवनस्तर उकास्न रोजगारसहित वास, कपास जस्ता कार्यक्रम ल्याउनु पर्ने, शनिश्चरे खुदुनाबारी सडकको कालेपत्रे पुरानो भएकाले भत्काउनु पर्ने, नदीजन्य सामाग्रीको ठेक्कामा सर्वपक्षीय भेला राख्नु पर्ने, उपभोक्ता शिक्षा कार्यक्रम विद्यालय कलेजमा दिुनपर्ने लगायतका सुझावहरु दिएको सेडाईले जानकारी दिए ।

नगरपालिकाका इञ्जिनियर निरज अधिकारीले शनिश्चरे बजारलाई व्यवस्थित गर्ने मार्गचित्रसहितको कार्यक्रम प्रस्तुत गरेका थिए ।

बैठकमा प्रदेश सासद् बृख प्रधान, पूर्वाधार विकास कार्यालय झापाका सुरेश कुमार मण्डल, प्रमुख प्रशासकीय अधिकृत पंकज भूर्तेल, डि.ई श्यामकुमार यादव, नेकपा नगर अध्यक्ष प्रेम सागर सापकोटा, नेपाली काग्रेसका नगर सभापति हिमराज सेडाई, संघीय समाजवादीका श्रीलाल चौधरी लगायतको उपस्थिति थियो ।

नगर उप–प्रमुख कमला खतिवडाले स्वागत गरेको कार्यक्रमको सञ्चालन बरिष्ठ योजना अधिकृत सेडाईले गरेका थिए ।