घुस लिएको आरोपमा वडासचिव पक्राउ

अपराध समाचार

काँकरभिट्टा /मेचीनगर नगरपालिका वडा नंं.२ भृकुटीका वडा सचिव सुरेश घिमिरे घुस लिएको आरोपमा प्रक्राउ परेका छन् ।

स्थानीय पूर्णबहादुर तामाङसँग नागरिकता सिफारिस बापत ९ हजार रुपैया घुस लिएको आरोप लागेपछि उनलाई प्रहरीले पक्राउ गरेको हो । वडासचिव घिमिरेलाई कारबाहीको माग गर्दै स्थानीयबासीले प्रहरीको जिम्मा लगाए ।

सेवाग्राहीसँग पटक पटक घुस लिएको गुनासो आईरहेको र गत शुक्रबार नागरिकता सिफारिस गर्दा सोझा स्थानीयसँग ९ हजार रुपैया घुस लिएको भन्दै आईतबार १० बजेदेखी नै स्थानीयबासीले वडा कार्यालय घेराउ गरेका थिए ।

घुस्याहा कर्मचारीलाई कार्यालयमा राख्न नहुने भन्दै स्थानीयले बिरोध जनाएपछि प्रहरीले वडा सचिव घिमिरेलाई नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय काकरभिट्टाले जनाएको छ ।

घट्ना बिवरण अनुसार केही दिन अघि स्थानीय पूर्णबहादुर तामाङ आफ्नी श्रीमती सञ्चली तामाङको नागरिकता बनाउन वडा कार्यालय पुगेका थिए ।

वडा कार्यालयमा पुग्दा सासुको नागरिकता रामेछापबाट बनाएकोले झापाबाट श्रीमतीको नागरिकता बनाउन झञ्झटिलो प्रक्रिया रहेको भन्दै जिल्लामा मिलाईदिने बहानामा वडा सचिब घिमिरेले आफुसंग १० हजार मागेको पीडित तामाङले बताएका छन् ।

सचिवले पैसा मागेपछि तामाङले श्रीमतीको नागरिकता बनाउनकै लागि छिमेकीसँग ऋण मागेर गत शुक्रबार सचिव घिमिरेलाई ९ हजार बुझाएको बताए ।

शुक्रबार बिहान ८ बजे नै पैसा लिएर वडा कार्यालय आउनु भनेपछि कार्यालयमा पुगेर घिमिरेलाई ९ हजार रकम बुझाएको पीडितले बताएका छन् । धुलाबारी घर भएका वडा सचिव घिमिरे पैसा लिनकै लागि कार्यालय समयभन्दा २ घण्टा अगाडी वडा कार्यालय पुगेको बताइएको छ ।

तामाङले वडा सचिबलाई पैसा दिएको कुरा उनका छिमेकीले थाहा पाए पछि मात्र घट्ना बाहिर आएको हो । सचिव घिमिरेका विषयमा यसअघि पनि गुनासो सुनिएकाले कारबाहीको माग गर्दै स्थानीयबासीले आज १० बजेदेखी नै वडा कार्यालय घेराउ गरेका थिए ।

प्रहरीले वडा सचिव घिमिरेलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय काकरभिट्टामा राखेको छ ।