हल्दिबारीमा अगुवा कृषकका लागि मत्स्यपालन तालिम शुरु

आर्थिक समाचार कृषि समाचार

हल्दिबारी / झापाको हल्दिबारी गाँउपालिकाले सञ्चालन गरेको ‘हल्दिबारीको बाचा झापाभरी माछा’ कार्यक्रम अन्तर्गत नयाँ माछा पालक कृषकको लागि व्यवसायिक माछा पालन तालिम सुरु गरेको छ ।

गाउपालिकाका अध्यक्ष रविन्द्रप्रसाद लिङ्देनको अध्यक्षतामा आज एक कार्यक्रमका बिच हल्दिबारी वडा नं ४ मा अगुवा कृषकलाई लक्षित गरी ३ दिने माछा पालन तालिम सुभारम्भ गरिएको गाँउपालिकाका प्रवक्ता सागर पोर्तेलले जानकारी दिए ।

तालिममा ४२ जना अगुवा कृषकको सहभागिता रहेको छ । तालिमको पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालयका माछा विज्ञ नेल्सन पोखरेल र प्राविधिक लाक्पा रिदरले मत्स्य पालनबारे सहजीकरण गर्नेछन् ।

गाँउपालिकास्तरीय नयाँ कृषक लक्षित तालिम सुभारम्भ कार्यक्रममा गाँउपालिकाका अध्यक्ष लिङ्देन, उपाध्यक्ष डम्बरबहादुर गिरी, माछा विज्ञ पोखरेललगायतले कार्यक्रमबारे प्रकाश पारेका थिए । कार्यक्रममा वडा नं ४ का वडाध्यक्ष होम चुडाल, वडासदस्य लगायतको उपस्थिति थियो ।

गाँउपालिकाले कृषकलाई माछा पालनमा प्रोत्साहित गर्दै आत्मनिर्भर बनाउने उद्देश्यले ‘हल्दिबारीको बाचा झापा भरी माछा’ कार्यक्रम गाँउसभाबाट पास गरिसकेको छ ।

सोही कार्यक्रम कार्यान्वयन गर्न तालिम शुरु गरेको प्रवक्ता पोर्तेलको भनाइ छ । गाँउपालिकाले माछा पालन गर्न चाहने कृषकलाई कम्तीमा ३ कठ्ठा र बढीमा १० कठ्ठा क्षेत्रफलमा पोखरी विस्तारका लागि प्रति कठ्ठा १० हजार रुपैयाँका दरले रकम उपलव्ध गराउने बताएको छ ।

गाँउपालिकाले त्यसका लागि मापदण्ड पनि तयार गरिसकेको छ । पुरानो माछा पालन पोखरीवाला कृषकका लागि माछालाई खुवाउने दाना बनाउने मेसिन, एरिएटर मेसिन, पीएच मिएर, माछा झुल, चुन, माछाको भुरा ढुवानी अनुदानलगायतका कार्यक्रम समेत रहेको गाँउपालिकाले जनाएको छ ।

नयाँ कृषकलाई ३ दिनको तालिमपछि भ्रमण गराउने कार्यक्रम समेत रहेको छ । तालिम र भ्रमणपछि मात्र इच्छुक कृषक छनोट गरीने कार्यक्रम रहेको प्रवक्ता पोर्तेलले जानकारी दिए ।

हल्दिबारीको महेन्द्र माध्यमिक विद्यालयमा आयोजित कार्यक्रमको सञ्चालन गाँउपालिकाका प्रशासकिय अधिकृत सन्तोष घिमिरेले गरेका थिए ।