हिन्दु राष्ट्र पुनःस्थापनाको माग गर्दै राप्रपाको देशव्यापी घरदैलो कार्यक्रम शुरु

राजनीति समाचार

झापा / हिन्दु राष्ट्र पुनःस्थापनालाई मुल मुद्दा बनाउदै आएको राप्रपाले जनतालाई जागृत गराउने उद्देश्यले आजवाट देशव्यापी घरदैलो कार्यक्रम शुरु गरेको छ ।

फागुन १५ देखि ३० गतेसम्म मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्राको कार्यक्रम तय गरेको राप्रपाले आज र भोली घर दैलो सहित कोणसभा आयोजना गरेको हो ।

जुन यात्रा ताप्लेजुङ देखि शुरु भई महाकालीको कञ्चनपुर हुँदै काठमाडौंमा पुग्नेछ ।

राप्रपाले माघ १३, १४ र १५ गते देशका सबै नगरपालिका र गाउँपालिकामा जनजागरण सभा गर्दैछ । राप्रपाले हिन्दु राष्ट्र पुनःस्थापनालगायतका मागहरू राखी फागुन ७ गतेदेखि नयाँ कार्यक्रम पनि सार्वजनिक गरिसकेको छ ।

उसले केन्द्रमा प्रधानमन्त्रीलाई र जिल्लामा प्रमुख जिल्ला अधिकारीलाई फागुन मसान्तसम्मको अल्टिमेटम दिदै ज्ञापनपत्र समेत बुझाउने कार्यक्रम तय गरेको छ ।

यसैवीच राप्रपा झापाले पाँचवटै निर्वाचन क्षेत्रमा कोणसभा र घरदैलो कार्यक्रम सम्पन्न गरेको जिल्ला सचिव केशव ओझाले जानकारी दिए । क्षेत्र नं १ को काँकरभिट्टामा सम्पन्न घर दैलो तथा कोणसभामा प्रदेश सदस्य कल्याण खड्का, रमेश दाहाल, शुशील आचार्यलगायतको सहभागिता थियो ।

त्यस्तै क्षेत्र नम्वर २ को विर्तावजारमा सम्पन्न कार्यक्रममा जिल्ला सह सचिव रञ्जु प्याकुरेल, नगर अध्यक्ष शंकर रिजालले वोलेका थिए ।

यस्तै, क्षेत्र नं. ३ को भद्रपुरमा प्रतिनिधीसभाका सांसद् एवं पार्टीका महामन्त्री राजेन्द्र लिङ्गदेनको सहभागिता रहेको थियो । र्यालीसहितको घरदैलो कार्यक्रममा सरिक हुँदै उनले हिन्दु राष्ट्र पुनःस्थापनाको लागि एक जुट हुन अपिल गरे ।

क्षेत्र नं.४ को सुरुङ्गामा आयोजित कार्यक्रममा जिल्ला सचिव केशव ओझा, नारायण पोखरेल, ज्योती उप्रेतीलगायतको सहभागिता रहेको थियो ।

क्षेत्र नं. ५ को दमक र गौरादहमा अलग अलग कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा केन्द्रिय सदस्य राजेश गिरी, जिल्ला अध्यक्ष अम्वर विष्ट, वासुदेव भट्टराई लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रम अन्तर्गत मंगलवार १५ वटै स्थानीय तहका सवै वडामा घरदैलो कार्यक्रम सञ्चालन गरीने जनाएको छ ।