हल्दिबारीले एकैदिन गर्यो १६० कृषकसँग सम्झौता, उपाध्यक्षले भने ‘मोटर कुखुराको खोरमुनी नथन्क्याउ’

आर्थिक समाचार समाचार स्थानीय

गोपिन पोखरेल-

हल्दिबारी / विभिन्न जनमुखी कार्यक्रम घोषणा गरेर चर्चामा रहेको झापाको दक्षिणी गाँउपालिका हल्दिबारीले सोमबार अर्को एउटा कार्यक्रम लञ्च गरेको छ ।

हल्दिबारीले ‘किसानको खुसी पशुपालन र कृषि’ कार्यक्रम कार्यान्वयन गर्न एकैदिन १६० वटा योजनामा सम्झौता गरी नयाँ कार्यक्रम लञ्च गरेको हो । हल्दिबारीका कर्मचारी र जनप्रतिनिधिको कामप्रतिको लगाव अन्य स्थानीय तहको तुलनामा त्यसै पनि तिब्र छ ।

गाउँपालिकाले कार्यालय परिसरमा एक कार्यक्रमको आयोजना गरी १७५ थान पानी तान्ने मोटर वितरण गरी अधिकांश कृषकको खेतबारीमा पानीको सुविधा पुर्याउने महत्वकांक्षी लक्ष्य सहितको योजना अघि सारेको हो ।

गाँउपालिकाको दोस्रो सभाले पारित गरेको कार्यक्रम कार्यान्वयन गर्न लागत साझेदारीमा मोटर उपलव्ध गराउने कार्ययोजनासहितको सम्झौता पत्रमा गाँउपालिकाका प्रशासकिय अधिकृत सन्तोष घिमिरे र १६० जना कृषकहरुले एकसाथ हस्ताक्षर गरेका हुन ।

योजना सम्झौता गर्दै प्रमुख प्रशासकिय अधिकृत घिमिरे


योजनाले ५वटै वडाका सहभागी १६० विभिन्न कृषकसमुह र अगुवा कृषकलाई आवश्यकता अनुसार २ र ३ हर्सपावरको पानी तान्ने मोटर उपलव्ध गराउने छ ।

उक्त महत्वकांक्षी लक्ष्य अन्तर्गत गाँउपालिकाले कृषकलाई करिब ५० लाख ५० हजार रुपैयाँ रकम मोटर जडान गर्न उपलव्ध गराउन लागेको हो । उक्त रकम कुल लागतको आधा रकम हो । त्यति नै बराबरको रकम कृषकले व्यहोर्ने छन् ।

अधिकृत घिमिरेका अनुसार ४ विगाहासम्म खेती गर्ने कृषकलाई २ हर्स पावरको र ४ विगाहाभन्दा बढी खेती गर्ने कृषक अथवा समुहलाई ३ हर्सपावरको मोटर उपलव्ध गराउने योजना गाँउपालिकाको छ ।

यो पढ्न छुटाउनु भयो कि ?

हल्दिबारीमा अगुवा कृषकका लागि मत्स्यपालन तालिम शुरु

झापामा हामी तीन ‘वीथ्री टीम’ गठन

गोलधाप कपुरस्थानमा मलामी खाजाघर बन्ने

बन्नेभो भेलागडीमा लोकतान्त्रिक शहिद स्मृती पार्क

‘बर्थिङ सेन्टर’मा पहिलो बच्चा जन्माउने सुत्केरीलाई लोकल कुखुराको भाले र हर्लिक्स उपहार

योजना कार्यान्वयनका लागि गाँउपालिका र कृषकले आधा आधा रकम व्यहोर्ने गरी कार्यविधि समेत निर्माण गरेको छ ।

सम्झौता अनुसार कृषकले मोटर खरिद गरेर आ आफनो खेतमा चैत मसान्त भित्रै गाडीसकेपछि मात्र आधा रकम गाँउपालिकाले भुक्तानी दिने प्रशासकिय अधिकृत घिमिरेले जानकारी दिए ।

२ हर्स पावरको मोटरका लागि ५७ हजार ५सय ५३ रुपैयाँ २४ पैसा र ३ हर्स पावरको मोटर जडान गर्न ६६ हजार ६ सय ७५ रुपैयाँ ७४ पैसा लाग्ने स्टिमेट सहितको सम्झौता गरिएको छ ।

साझेदारीमा ५० प्रतिशत मात्र रकम व्योहोर्ने कृषक, ५१ देखि ६० प्रतिशतसम्म व्योहोर्ने र ६० प्रतिशत भन्दामाथि लागत व्यहोर्ने कृषकलाई ४५ देखि ५० अंक प्रदान गरी क ख र ग बर्गमा विभाजन गरेर अंक गणना मार्फत कृषक छनोट गरेको अधिकृत घिमिरेले बताए ।

उक्त योजना सम्पन्न भएपछि हल्दिबारी गाँउपालिकाको करिब ९ सय विगाहा जमिनमा बाह्रैमहिना सिंचाइ सुविधा पुग्नेछ । हल्दिबारीको दृष्टी कृषि र पर्यटन मार्फत समृद्धी भन्ने कार्यक्रम कार्यान्वयन गर्न यो योजना लञ्च गरिएको गाँउपालिकाका अध्यक्ष रविन्द्रप्रसाद लिङ्देनले बताए ।

‘जबसम्म कृषकको आयस्तर बृद्धी हुदैन तबसम्म समृद्धी नआउने रहेछ’–अध्यक्ष लिङ्देनले भने ‘त्यही भएर हल्दिबारीले सबभन्दा पहिला कृषकको जीवनस्तर उकास्न कृषिमा लगानी गर्ने कार्यक्रम ल्याएको हो ।’ अध्यक्ष लिङ्देनले गाँउपालिकाले साझेदारीमा दिएको मोटर सहि ढंगले सदुपयोग गर्दै अधिकतम आम्दानी लिन कृषकलाई सुझाव दिए ।

योजना सम्झौता कार्यक्रममा गाँउपालिकाका उपाध्यक्ष डम्बरबहादुर गिरीले गतवर्ष गाँउपालिकाले प्रदान गरेको पानी तान्ने मोटर कृषकले कुखुराको खोरमुनी थन्क्याएर राखेको पाइएको भन्दै अब तेसो नगर्न आग्रह गरे ।

सो अवसरमा सिंचाइ विज्ञ डा. राजेन्द्र उप्रेतीले पानीले सबैको जीवनमा परिवर्तन ल्याउँछ भन्दै हल्दिबारीले खेती गर्ने कृषकलाई प्रोत्साहित गरे समृद्धी आउन समय नलाग्ने धारणा व्यक्त गरे ।

गाँउपालिका अध्यक्ष लिङ्देनको अध्यक्षतामा आयोजित कार्यक्रमको सञ्चालन प्रमुख प्रशासकिय अधिकृत घिमिरेले गरेका थिए ।

सो अवसरमा माछा विज्ञ नेल्सन पोखरेल, विभिन्न वडाका वडाध्यक्षलगायत २ सय अगुवा कृषकहरुको उपस्थिति थियो । कार्यक्रममा सहभागी कृषकहरुले गाँउपालिकाले मोटर उपलव्ध गराए पनि विद्युतको पर्याप्त भोल्टेज अभावका कारण समस्या रहेको गुनासो गरेका थिए ।

नारै नाराका  कार्यक्रम

हल्दिबारीले नारै नाराका विभिन्न कार्यक्रम ल्याएको छ । जसअन्र्तगत ‘हल्दिबारीको दृष्टी कृषि र पर्यटन मार्फत समृद्धी’, ‘फेरी पनि घुम्न जाँउ हल्दिबारी गाँउ’, पूर्वको पर्यटकीय स्थल, हल्दिबारीको जलथल’, ‘संसार बदल्नु छ भने परिवर्तन आफैबाट शुरु गर्नुपर्छ’, ‘किप हल्दिबारी क्लिन थ्रु जीम’, ‘गरौ योग भगाऔं रोग’, ‘द्धार एक सेवा अनेक’ आदि जस्ता कार्यक्रम छन् ।

त्यस्तै, ‘हल्दिबारीको बाचा झापाभरी माछा’, किसानको खुसी पशुपालन र कृषि, हल्दिबारीका महिला विकासमा पहिला, हरियाली सहितको फलफुल र घाँसमा आत्मनिर्भर गाँउ, गाँउवासीका गुनासाहरु जनप्तिनिधिर कर्मचारीसँग, मैले तिरेको कर गाँउपालिकाको भर, गरौं मिलाप नगरौ विलाप जस्ता कार्यक्रम घोषणा गरेर हल्दिबारीले चर्चा कमाएको छ ।