जयेन्द्र प्रसाई साहित्यसेवा कोषले छनोट गर्यो कृति र प्रतिभा

समाचार साहित्य

विर्तामोड  / जयेन्द्रप्रसाद प्रसाई साहित्य सेवाकोषले प्रत्येक वर्ष प्रदान गर्दै आएको साहित्य तथा पत्रकारिता पुरस्कारका लागि कृति तथा प्रतिभा छनौट गरेको छ ।

कोषले यसबर्ष झापा घर भई काठमाडौं बस्दै आएकी श्रष्टा अर्चना थापाको ‘कठपुतला’ कृतिलाई २०७४मा प्रकाशित बर्षोत्कृष्ट कृति पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।

यसैगरी कोषद्वारा स्थापित विष्णु–चन्द्र–पद्मा दीर्घसाहित्य सेवा पुरस्कारबाट साहित्यकार कृष्ण धराबासीलाई सम्मान गर्ने निर्णय भएको कोषका महासचिव छविलाल खतिवडाले जानकारी दिए ।

दर्जन बढी कृति प्रकाशित गरिसक्नुभएका धराबासी यसअघि नै मदन पुरस्कारबाट समेत सम्मानित भइसकेका छन् ।

कोषले विष्णुकुमार भट्टराईको संयोजकत्वमा उत्कृष्ट कृति तथा दीर्घसाहित्य सेवा सम्मान छनौटका लागि पुरस्कार उपसमिति गठन गरेको थियो ।

यसैगरी कोषले क्रियाशील महिला पत्रकारलाई प्रत्येक बर्ष प्रदान गर्दै आएको धनमाया महिला सक्रिय पत्रकारिता पुरस्कारबाट हिमालय टेलिभिजनका झापा सम्बाददाता भारती राईलाई प्रदान गर्ने निर्णय गरेको छ ।

यसैगरी कोषका सदस्य लोकराज ढकालको संयोजकत्वमा प्रतिभा छनौट उपसमिति गठन गरिएको थियो ।

दुवै उपसमितिको सिफारिस अनुरुप कोषले कृति तथा प्रतिभा छनौट गरेको हो ।

धनमाया महिला सक्रिय पुरस्कारबाट यसअघि इन्दु पूर्वेली, भीमा शिवाकोटी, रेजिना गौतम, सुशिला संग्रौला, लिला अनमोल, माया पकुवाल, अम्बिका भण्डारी, रुमा राजवंशी, सुष्मा राजवंशीलगायत सम्मानित भइसकेका छन् ।

कोषले यसैबर्षदेखि धनमाया महिला पत्रकारिताको पुरस्कार राशी १५ हजारबाट बढाएर २१ हजार रुपैया पु¥याएको छ ।

कोषका अध्यक्ष गोपीकृष्ण प्रसाईको अध्यक्षतामा सम्पन्न बैठकले छनौट भएका प्रतिभाहरुलाई आगामी माघ १६ गते कोषको सभाहलमा आयोजना हुने विशेष कार्यक्रमका बीच सम्मान तथा पुरस्कार प्रदान गर्ने निर्णय गरेको सचिव राजेन्द्र प्रसाईंले जानकारी दिए ।