वेलफेयर नेपालको तर्फबाट जजामाविका २५ विपन्न विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान (भिडियो पनि)

बिद्यालय-कलेज शिक्षा समाचार

गोलधाप / अष्ट्रेलियाको मेलवर्नमा रहेको नेपालीहरुको संस्था वेलफेयर नेपालले आज झापाको हल्दिबारी १ को जनजागृती माध्यमिक विद्यालयका २५ जना विपन्न छात्रछात्रालाई शैक्षिक सामाग्री वितरण गरेको छ ।

जनजागृती माविका पूर्व विद्यार्थी समेत रहेका सिटौलाले आफुले अध्ययन गरेको पुरानो विद्यालयका छात्रछात्राको शैक्षिक गुणस्तर सुधारमा मद्यत गर्ने उद्देश्यले वेलफेयर नेपालको तर्फबाट शैक्षिक सामाग्री प्रदान गरेको बताए । सिटौला वेलफेयर नेपालको सचिव छन् भने उनकी धर्मपत्नी डा.शोभना प्रधान सदस्य हुन् ।

हल्दिबारी वडा नं १ निवासी सिटौला हाल १२ वषदेखि  अष्ट्रेलियामा इन्जिनियरिङ क्षेत्रमा कार्यरत छन् ।
अष्ट्रेलियाको मेलवर्नमा रहेका नेपालीहरुले मिलेर वेलफेयर नेपाल नामक गैरनाफामुखी संस्था दर्ता गरी सन् २०१५ देखि नेपालका विभिन्न क्षेत्रमा सहयोग समाग्री हस्तान्तरण गर्दै आएको छ ।

विदेशमा कमाएको पैसा अलिअलि बचाएर जम्मा गरेको रकमबाट शैक्षिक सामाग्री हस्तान्तरण गरेको सिटौलाले बताए ।

जनजागृती माविका पूर्व विद्यार्थी सिटौला उक्त संस्थाको सचिव रहेका छन् । सिटौला परिवारले कक्षा १ देखि ८ सम्मका २५ जना छात्रछात्रालाई २ लाख ४२ हजार २५० रुपैँया बराबरको स्कुल व्याग, ड्रेस, हाउस ड्रेस तथा स्टेशनरी सामाग्री प्रदान गरेका थिए ।

छात्रछात्राले खाजा खर्च बापत २ हजार रुपैया सहित करिब ९ हजार ७०० रुपैया बराबरको शैक्षिक सामाग्री प्राप्त गरेको संस्थाका सदस्य एवम् सिटौलाकी धर्मपत्नी डा.शोभना प्रधानले जानकारी दिइन ।

वेलफेयर नेपालले एक शैक्षिकसत्र भरीको लागि उक्त रकम बराबरको सामाग्री हस्तान्तरण गरेको हो । वेलफेयर नेपालमा हाल ३३ जना नेपालीहरु सदस्य रहेका छन् ।

संस्थाले यसअघि मेलम्ची सिन्धुपालचोकको एक विद्यालयका छात्रछात्रालाई शैक्षिक सामाग्री प्रदान गरेको थियो । त्यस्तै, दोलखाको ओलम्पुमा भूकम्पले छ्यत्विछ्यत भएको विद्यालयको होस्टलका विद्यार्थीलाई खाने बस्ने सामाग्री प्रदान गरेको सिटौलाले जानकारी दिए ।

सामाग्री हस्तान्तरण कार्यक्रममा सिटौलाका पिता गोपिकृष्ण, माता विमला, दिदी झुमा, धर्मपत्नी डा.शोभना र सिटौलाका दुई छोरीहरुको उपस्थिति थियो ।

                                                        भिडियो पनि

शैक्षिक सामाग्री कार्यक्रमका प्रमुख अतिथि समेत रहेका सिटौला र उनकी धर्मपत्नी शोभना, माता पिताले संयुक्त रुपमा हस्तान्तरण गरेका थिए ।

विद्यालय व्यस्थापन समितिका अध्यक्ष एवम् हल्दिबारी वडा नं १ का वडाअध्यक्ष त्रिलोचन सापकोटाको सभापतित्वमा भएको कार्यक्रममा हल्दिबारीका शिक्षा अधिकृत दिनेश आचार्य, श्रोत व्यक्ति सूर्यप्रसाद सापकोटा, कार्यपालिका सदस्य शरिता नेउपाने लगायतको उपस्थिति थियो ।

विद्यालयका प्रधानाध्यापक इन्दिरा चुडालले औचित्य माथि प्रकाश पारेको कार्यक्रममा दाताका तर्फबाट संस्थाका सचिव सिटौलाले विद्यार्थीको प्रगति हेरेर आगामी दिनमा पनि सहयोगलाई निरन्तरता दिने बताए ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष सापकोटा, विद्यालयका शिक्षक एवम् हल्दिबारीका शिक्षा समिति सदस्य राम दाहाल लगायतले पूर्व विद्यार्थीले शैक्षिक गुणस्तर उकास्न छात्रछात्रालाई गरेको सहयोगको प्रसंसा गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथी समेत रहेका सिटौलालाई विद्यालयको तर्फबाट व्यवस्थापन समिति अध्यक्ष र प्रधानाध्यापकले मायाको चिनो प्रदान गरेका थिए ।

जनजागृती माविमा हाल ६५० जना छात्रछात्रा अध्ययनरत छन् भने ३२ जना शिक्षक–कर्मचारी रहेका छन् ।