‘हल्दिबारीले नयाँ अध्याय शुरु गर्दै देशकै ध्यान तानेको छ’- सांसद् लिङ्देन

खेलकुद समाचार स्थानीय

गोपिन पोखरेल-

हल्दिबारी / हल्दिबारी गाँउपालिकाले पहिलो पटक ‘प्रथम अन्तर विद्यालय अध्यक्ष तथा उपाध्यक्षकप खेलकुद प्रतियोगिता २०७५’ आयोजना गरेको छ ।

हल्दिबारी गाँउपालिका वडा नं १ स्थित जनजागृती माध्यमिक विद्यालयमा आज आयोजित समुद्घाटन समारोहमा प्रतिनिधीसभाका सांसद् राजेन्द्र लिङ्देनले खेलकुद प्रतियोगिताको उद्घाटन गरे ।

प्रतियोगितामा गाँउपालिकाका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयको सहभागिता रहेको छ । प्रतियोगितामा सबै विद्यालयका माध्यमिक तहका छात्र छात्राले फुटबल, भलिबल, कबडी र एथलेटिक्स विद्याका खेलहरुमा प्रतिष्पर्धा गर्ने खेल संयोजक रामबहादुर दाहालले जानकारी दिए ।

गाँउ शिक्षा समिति हल्दिबारीको आयोजनामा सञ्चालित प्रतियोगिता माघ १० गतेदेखि १६ गतेसम्म चल्नेछ । तर, प्रतियोगि विद्यालयहरु धेरै भएकोले उद्घाटनको अघिल्लै दिन फुटबलका केही खेलहरु खेलाइएको थियो ।

शहिद दिवसको अवसर पारेर आयोजना गरिएको प्रतियोगिताको अध्यक्षकपमा १३ वटा मावि र उपाध्यक्ष कपमा १९ वटा आधारभूत विद्यालयका छात्र छात्राले भाग लिंदैछन् ।

खेलकुद प्रतियोगिता उद्घाटन समारोहमा प्रमुख अतिथि राजेन्द्र लिङ्देनले हल्दिबारीले हरेक क्षेत्रमा नयाँ अध्यायको शिलशिला सुरु गरेरे देशको ध्यान आकृष्ट गरेको बताए ।

गाँउपालिकाले ल्याएको सर्वाङ्गिण विकासको नीति तथा कार्यक्रम प्रसंशनीय रहेको उनको भनाइ थियो । खेलकुदले वालवालिकाको शारिरिक र मानसिक विकासमा टेवा पुग्ने भन्दै सांसद् लिङ्देनले हल्दिबारीले शुरु गरेको उक्त कार्यको खुलेर प्रसंसा गरे ।

उद्घाटनका अवसरमा प्रदेश सभासदस्य बसन्त बानियाँले उत्कृष्ट कार्य गर्ने स्थानीय निकायले प्रदेश सरकारको तर्फबाट पुरस्कार स्वरुप ५ करोड रुपैयाँ प्राप्त गर्ने भन्दै हल्दिबारीलाई त्यो पुरस्कार प्राप्त गर्नेदिशातिर अघि बढ्न सुझाव दिए ।

अर्का प्रदेश सभासदस्य पूर्णप्रसाद राजवंशीले राजनीतिक विचारधारा भन्दा माथि उठेर प्रगतिको पथमा अघि बढ्न आग्रह गरे ।

कार्यक्रममा बोल्दै गाँउपालिकाका अध्यक्ष रविन्द्रप्रसाद लिङ्देनले खेलकुद उफ्रने प्रतियोगिता मात्र नभई विद्यार्थीको सर्वाङ्गिण विकास गर्ने माध्यम भएको धारणा राखे ।

उद्घाटन कार्यक्रममा झापाका शिक्षा विकास तथा समन्वय इकाई प्रमुख योगेन्द्रप्रसाद बराल, सामुदायिक विद्यालयको तर्फबाट हल्दिबारी माविका पधानाध्यापक टंकबहादुर पाख्रिन र संस्थागत विद्यालयको तर्फबाट क्यानरी अंग्रेजी माविका प्रधानाध्यापक टीकादेवी चुडालले प्रतियोगिता सफलताको शुभकामना दिएका थिए ।

गाँउपालिकाका उपाध्यक्ष डम्बरबहादुर गिरीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन खेल संयोजक राम दाहालले गरेका थिए ।

प्रतियोगिता उद्घाटनका अवसरमा विभिन्न विद्यालयका स्काउटका छात्र छात्राले अतिथिहरुलाई सलामी अर्पण गर्नुका साथै कराँतेको काँता, हंण्डी फुटाउने, ट्युबलाइट फुटाउने कलाका साथै आकर्षक नृत्य समेत प्रस्तुत गरेका थिए ।