‘व्यवसायिले उच्च मनोबलसाथ ढुक्क भएर लगानी गरेहुन्छ’: मुख्यमन्त्री राई

आर्थिक समाचार कृषि पर्यटन व्यापार व्यवसाय समाचार

गोपिन पोखरेल-

विर्तामोड / विर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सवको उद्घाटन गर्दै प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले महोत्सव आफ्नो उद्देश्यमा सत्प्रतिशत सफल हुने विश्वास व्यक्त गरेका छन् ।

‘पहिलो पटक आयोजित यो महोत्सव भव्यताका साथ सफल हुने मैले अपेक्षा लिएको छु’, मुख्यमन्त्री राईले भने- ‘आयोजकहरुको मुहारमा देखिएको खुसीले त्यो बताई रहेको छ ।’

महोत्सव विर्तामोड क्षेत्रको व्यापार, कृषि र पर्यटनको क्षेत्रमा महत्वपूर्ण कोसेढुङ्गा सावित हुने मुख्यमन्त्री राइले बताए । देश यतिबेला विकास र समृद्धीको महत्वपूर्ण कोर्षमा प्रवेश गरिसकेको प्रदेश सरकार प्रमुख राइले जानकारी दिए ।

जनतालाई सुखी बनाउन ३ तहका सरकार क्रियाशिल रहेको बताउदै मुख्यमन्त्री राइले सबैको सहभागिता रहे विकासको प्रतिफल चाँडै हातलाग्ने विश्वास दिलाए ।

नीजि क्षेत्रसँग सहकार्य नगरी समृद्धी सम्भव छैन तसर्थ प्रदेश सरकार नीति तथा कानुन निर्माण गरेर उद्योग बाणिज्य संघसँग सहकार्य गर्न तयार रहेको मुख्यमन्त्री राइले जानकारी दिए ।

केहीदिनपछि नेपाल उद्योग बाणिज्य महासंघसँग प्रदेशमा सहकार्य गर्न एउटा सम्भौतामा हस्ताक्षर गर्ने तयारी भइरहेको पनि उनले खुलासा गरे । मुख्यमन्त्री राइले व्यवसायिलाई उच्च मनोबलकासाथ ढुक्क भएर लगानी गर्न आवहान पनि गरे ।

कार्यक्रमका विशिष्ट अतिथि दक्षिण एसिया उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चण्डीराज ढकालले महोत्सव विर्तामोडका व्यापारीको लागि मात्र नभई समग्र झापालीको कला संस्कृती अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्ने अवसर भएको बताए ।

कृषिलाई एक गाँउ एक उत्पादनमा जोड दिंदै प्रदेश सरकारसँग सम्झौता गर्न लागेको महासंघका उपाध्यक्ष ढकालले जानकारी दिए ।

प्रदेश १ का स्थानीय मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले विर्तामोडलाई औद्योगिक र व्यापारिक प्रदर्शनी केन्द्रको रुपमा विकास गर्ने प्रस्ताव लिएर आए प्रदेश सरकार सहयोग गर्न तयार रहेको धारणा व्यक्त गरे ।

यहाँका व्यापारीहरुले जग्गाको व्यवस्था गरे प्रदेश सरकारले अन्तर्राष्ट्रियस्तरको प्रदर्शनी केन्द्र निर्माण गर्न प्रयत्न गर्ने उनले बताए ।

कार्यक्रममा दक्षिण एसियाली शारिरिक सुगठनमा स्वर्ण पदक विजेता राम दाहाललाई रुद्राक्षको माला लगाई सम्मान गरिएको थियो । चीनमा सम्पन्न अन्तर्राष्ट्रिय वल्र्ड हिरो कपमा स्वर्ण पदक विजेता अर्का खेलाडी दिपेन धिमाल र चीनमा सम्पन्न अन्तर्राष्ट्रिय वल्र्ड हिरो कपमा स्वर्ण पदक विजेता याङकिला राईलाई पनि सम्मान गरिएको थियो ।

त्यस्तै,महोत्सव उद्घाटनका अवसरमा चन्द्रगढी विमानस्थलका कार्यालय प्रमुख पूर्णप्रसाद चुडाललाई पनि सम्मान गरिएको थियो । सबै सम्मानित व्यक्तित्वहरुलाई कार्यक्रमका प्रमुख अतिथि र विशिष्ट अतिथिले सम्मान गरेका थिए ।

मेलामा ५ वटा देशका उद्योगी व्यवसायीको सहभागिता छ । महोत्सव उद्घाटनका अवसरमा प्रतिनिधिसभा सदस्य पवित्रा निरौला खरेल, प्रतिनिधिसभा सदस्य धर्मशिला चापागाँई, नेपाल कम्युनिष्ट पार्टी झापाका स्थानीय नेता चिन्तन पाठक, विर्तामोड नगरपालिकाका प्रमुख ध्रुवकुमार शिवाकोटी, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य केशवराज पाण्डे, पूर्व संविधानसभा सदस्य सुधिरकुमार शिवाकोटीलगायतले महोत्सव सफलताको शुभकामना दिएका थिए ।

महोत्सव आयोजक समितिका सहसंयोजक राजु नेउपानेले अतिथिहरुलाई स्वागत गरेका थिए । उद्घाटनका अवसरमा हेलिकप्टरबाट पुष्पबृष्टी गरिएको थियो भने अतिथीहरुले परेवा उडाएर शान्तिको कामना गरेका थिए ।

विर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कार्यक्रमका सभापति कुमार भट्टराइले कार्यक्रमको औचित्य प्रकाश पारेको कार्यक्रमको सञ्चालन पत्रकार केशव भट्टराइले गरेका थिए । महोत्सव माघ ११ गतेदेखि २३ गतेसम्म चल्नेछ ।

महोत्सवमा खाद्यान्न राष्टिय तथा अन्तर्राष्ट्रिय स्टलहरु, आकर्षक बाल उद्यान, अटो, सेल्फी जोन, फेसन शोलगायतका स्टलहरु राखिएका छन् । महोत्सव उद्घाटनका अवसरमा विभिन्न जात जातीलाई आ आफ्नो जातीय पहिरन र भेषभुषामा उतारिएको थियो ।