तातो तेल खनिएर शरिर जलेकी वालिकालाई बुहारी ग्रुपको २० हजार बढी सहयोग

आर्थिक समाचार समाचार समाज

विर्तामोड / तातो तेल खनिएर शरिरको विभिन्न भाग जलेर घाइते भएकी २२ महिने वालिका सिम्रन पौडेललाई बुहारी ग्रुपले २० हजार ३७५ रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

गैँडाकोटमा डेरा गरीबस्दै आएका वालिकाका बाबु आमा कृष्ण पौडेल र विष्णुमाया पौडेल ठेलामा मोमो पसल सञ्चालन गर्दै आएका छन् ।

ठेलामा राखिएको तातो तेल ठेला हल्लिएर पोखिएपछि माघ १ गते वालिकाको टाउकोलगायत शरिरको विभिन्न भाग जलेको थियो ।

घाइते वालिका


वालिकाको चितवन मेडिकल कलेजमा उपचार भईरहेको भए पनि उपचारमा आर्थिक अभाव छ । आर्थिक अभावले उपचारमा समस्या भएको जानकारी पाएपछि सामाजिक गतिविधिमा सक्रिय बुहारी ग्रुपका सदस्यहरुले हस्पिटल पुगेर वालिकाकी आमालाई नगद २० हजार ३७५ रुपैयाँ  हस्तान्तरण गरेका हुन् ।

चितवनस्थित बुहारी ग्रुपका सदस्यहरु सृजना अधिकारी, रितिशा श्रेष्ठ, मनिषा पौडेल, लक्ष्मी पौडेल, गंगा ज्ञवाली, मञ्जु वाँस्तोला, भूमिका अधिकारी, शरु कुँवर, शुस्मिता अधिकारी र पुष्पा सापकोटालगायतको उपस्थितिमा नगद रकम हस्तान्तरण गरिएको ग्रुपकी एड्मिन प्रभा आचार्यले जानकारी दिइन् ।

बुहारी ग्रुप विवाहित महिलाहरु मात्र संगठित भई सञ्चालन गरेको सेक्रेट ग्रुप हो । बुहारी ग्रुपले आर्थिक अभावले उपचार गर्न नसकेका यस्तै वालवालिका र व्यक्तिहरुलाई सहयोग गर्दै आएको छ ।

बुहारी ग्रुपमा प्रभा आचार्य, विमला पाण्डे, मनिषा पौडेल एड्मिन छन् भने तुलसा आचार्य गौतम ग्रुपका मोडरेटर रहेका छन् ।