भ्रष्टाचार विरुद्ध प्रेम नारा लिएर बनेको चलचित्र ‘सयकडा १०’ को टीम झापामा

फिल्मी संसार मनोरञ्जन

विर्तामोड / भ्रष्टाचार विरुद्ध प्रेम भन्ने नारा लिएर बनेको नेपाली कथानक चलचित्र सयकडा १० को फिल्म निर्माण युनिट प्रमोशनको लागि आज विर्तामोड आएको छ ।

फिल्म निर्माण युनिटले पत्रकार सम्मेलन गरी सयकडा १० एउटा सिनेमा मात्र नभएर भ्रष्टाचार विरोधी सांस्कृतिक अभियान भएको जानकारी दियो ।

पत्रकार सम्मेलनमा चलचित्रको कथाबस्तुका बारेमा जानकारी दिंदै चलचित्रका अभिनेता मनोज गजुरेलले भ्रष्टाचार विरुद्धको चलचित्र अभियानको रुपमा सयकडा १० आएको बताए । भ्रष्टाचारलाई प्रेमले जित्न सक्छ भन्ने सन्देश बोकेर चलचित्र बनेको उनको भनाई छ ।

रंगकर्मी मनोज गजुरेल यो चलचित्रमार्फत पहिलो पटक ठुलो पर्दामा देखा पर्दैछन् । सयकडा १० मनोरञ्जन सहितको सामाजिक विषयबस्तुमा बनेको उत्प्रेरक सिनेमा भएको पनि गजुरेलले बताए ।

चलचित्रका लेखक तथा निर्देशक रामशरण पाठकले चलचित्र निर्माणमा सामाजिक अभियन्ताको साथ र सहयोगमार्फत चलचित्र बनेको जानकारी दिए । यो चलचित्र सामाजिक अभियानको रुपमा आएकोले निक्कै धेरै निर्माताहरुको साथ रहेको निर्देशक पाठकले बताए ।

चलचित्रका नायक अमृत ढुङ्गानाले चलचित्र हाँस्यव्यङ्ग्यात्मक भ्रष्टाचार विरोधी ट्याग लाइनमा बनेको जानकारी दिए ।

चलचित्रमा हाँस्य कलाकार मनोज गजुरेल, राजाराम पौडेलका साथै अमृत ढुङ्गाना, सोनियाँ राई, रवी डंगोल, अमित पोखरेल, उत्सव नेउपाने, करुणा श्रेष्ठ, रश्मी भट्टलगायतले अभिनय गरेका छन् । सोनियाँ राई नेपाली मुलकी बर्मेली नायिका हुन् ।

दर्शन नेपाल क्रिएशन प्रालिको व्यानरमा निर्मित चलचित्रको निर्माता डिआर उपाध्याय, रञ्जु प्रधान, उत्तम खत्री, सञ्जीव नेउपाने छन् भने कार्यकारी निर्मातामा राजाराम पौडेल र सह निर्माता मनोज निरौला, बालकृष्ण घिमिरे, सजन थापालगायत रहेका छन् ।

कल्याण सिंह, जुगल डंगोलले संगीत गरेको चलचित्रमा डिआर उपाध्याय, रवि मल्ल रामशरण पाठकलगायतले गीत लेखेका छन् ।

स्वप्न सुमन, त्रिशला गुरुङ र सन्देश पाठक र सागरसंसार राईले चलचित्रको गीतमा स्वर दएका छन् । चलचित्र माघ १८ गतेदेखि देशभर प्रदर्शन हुनेछ ।