धमाधम बन्दै डोले आवास

समाचार समाज समुदाय स्थानीय

विर्तामोड / बस्ने घरको राम्रो प्रबन्ध नभएका जन्मदै अपाङ्ग विर्तामोड नगरपालिका ९ का डोलो राजवंशी (डोले) अब नयाँ घरमा बस्न पाउने भएका छन् ।

स्थानीय यूवाहरुको पहलमा डोले चोकमा घर निर्माण भएसँगै ५० वर्षीय डोले नयाँ घर (डोलेआवास) मा बस्न पाउने भएका हुन् ।

राम्रो ओत लाग्नसक्ने घरमा बस्न नपाई उनले ५० वर्ष उमेर कटाइसकेका थिए । मोतीलाल राजवंशी र सुकसरी राजवंशीका एक्ला छोरा डोले जन्मदै अपाङ्ग भएकाले राम्रोसँग हिडडुल गर्न र बोल्न सक्दैनन् ।

दिसा पिसाव समेत कहाँ गर्नुपर्छ भन्ने चेत नभएका डोले आफु बस्ने नयाँघर तयार हुन लागेको देखेर खुसी हुँदै केवल मुसुमुसु हाँस्ने गर्दछन् ।

उनकी ८० वर्षीय आमा सुकसरीको पनि मानसिक सन्तुलन ठीक छैन । एक्लै बरबराउँदै बोल्ने सुकसरी पनि नयाँ घरमा बस्न पाउने भएपछि हर्षित छन् । मानसिक सन्तुलन ठीक नभएपनि छोरा डोलेलाई बनिबुतो गरेर उनले मिठोमसिनो खुवाउदै आएकी छिन् ।

विर्तामोड ९ का स्थानीय युवाहरु प्रकाश बुढाथोकी, पूर्णकुमारी राजवंशी, प्रदिपकुमार संग्रौला, कमल अधिकारी, दुर्गा पाठक, सरोज पौडेल, राजेन्द्र सिटौला, रमेश राजवंशी, चेतन शिवाकोटी, हरेश राजवंशी र लक्ष्मी मोक्तानलगायतको एक समितिले डोलेको घर निर्माण गर्ने जिम्मेवारी लिएपछि घर निर्माणको काम सम्भव भएको हो ।

गत पुस २५ गतेदेखि शुरु भएको ३ कोठे एकतले टीनको छानो भएको घरको ७० प्रतिशत निर्माण कार्य सम्पन्न भइसकेको निर्माण समितिका अध्यक्ष प्रकाश बुढाथोकीले जानकारी दिए ।

मंगलबार डोले चोकस्थित घर निर्माण स्थलमा निर्माण समितिले पत्रकार सम्मेलन गरी घर निर्माणमा भएको प्रगतिबारे जानकारी दिएको हो ।

घर निर्माण समितिका अध्यक्ष बुढाथोकीका अनुसार डोलेको घर निर्माणका लागि सहयोगीहरुले स्वतस्फुर्त रुपमा सहयोग गरेका कारण घरको निर्माण सम्भव भएको हो ।

डोले उनकी आमाकोसाथ एकपाखे टीनको छानो भएको छाप्रोमा बस्दै आएका छन् । २० साल अघिदेखि त्यहाँ बस्तै आएको डोलेको परिवारलाई स्थानीयहरुले सरसहयोग गर्दै बस्नको लागि त्यत्तिको व्यवस्था गरिदिएको छिमेकी तेजप्रसाद पाठकले बताए ।

घर निर्माणका लागि स्वदेश तथा विदेशबाट पनि रकम प्राप्त भएको निर्माण समितिले जनाएको छ । सहयोगीहरुको साथ भए बाँकी निर्माण कार्य सकेर चाँडै घर हस्तान्तरण गर्ने योजना रहेको निर्माण समितिका अध्यक्ष बुढाथोकीको भनाई छ ।

डोलेको घर निर्माणका लागि स्थानीय किरण राजवंशीले जग्गा उपलव्ध गराएका हुन् ।