जयेन्द्र प्रसाई साहित्य सेवाकोषद्वारा अर्चना, कृष्ण र भारती पुरस्कृत

समाचार समाज साहित्य

विर्तामोड/जयेन्द्रप्रसाद प्रसाई साहित्य सेवाकोषद्वारा प्रत्येक वर्ष प्रदान गरिंदै आएको साहित्य तथा पत्रकारिता पुरस्कार बुधबार वितरण गरिएको छ ।

कोषको विर्तामोडस्थित सभाहलमा आयोजित कार्यक्रममा वर्षोत्कृष्ट कृतिका रुपमा स्रष्टा अर्चना थापाद्वारा लिखित कठपुलता, विष्णु–चन्द्र–पद्मा दीर्घ साहित्य सेवातर्फ साहित्यकार कृष्ण धरावासी र धनमाया सक्रिय वर्षोत्कृष्ट पत्रकारिता पुरस्कारबाट भारती राईलाई पुरस्कृत गरिएको छ ।

कोषका अध्यक्ष गोपीकृष्ण प्रसाईको अध्यक्षता तथा प्राध्यापक साहित्यकार गोपाल भण्डारीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा पुरस्कृत स्रष्टाहरुलाई प्रमुख अतिथि भण्डारी तथा कोषका अध्यक्ष प्रसाईले दोसल्ला, सम्मानपत्र र नगद राशीसहित सम्मान गरिएको थियो । पुरस्कारको राशी नगद २१ हजार रहेको छ ।

कार्यक्रममा कृतिकी लेखिका अर्चना थापाको व्यक्तित्व चर्चा साहित्यकार मुनाराज शेर्माले गरेका थिए ।

साहित्यकार कृष्ण धरावासीको व्यक्तित्व परिचय लोकराज ढकालले गराएका थिए । त्यस्तै, पत्रकार भारती राईको व्यक्तित्वबारे पूर्व पुरस्कृत प्रतिभा शुष्मा राजवंशीले गराएकी थिइन् ।

सम्मानित कठपुतलाकी लेखिका अर्चना थापाको सम्मानपत्र कोषका महासचिव छविलाल खतिवडाले वाचन गरेका थिए भने धरावासी र राईको सम्मान–पत्र केशव भट्टराईले वाचन गरेका थिए ।

कार्यक्रममा नुरज भट्टराई, देवी संग्रौलालगायतले कविता वाचन गरेका थिए । केशव भट्टराईले सञ्चालन गरेको कार्यक्रममा स्वागत संस्थाका सचिव राजेन्द्र प्रसाईले गरेका थिए भने कार्यक्रमको औचित्यमाथि प्रकाश उपाध्यक्ष विष्णुकुमार भट्टराईले पारेका थिए ।