गाँउपालिका स्तरीय अध्यक्ष उपाध्यक्षकपमा हल्दिबारी माविको बर्चस्व

खेलकुद शिक्षा समाचार स्थानीय

गोपिन पोखरेल-

हल्दिबारी / हल्दिबारी गाँउपालिकाले आयोजना गरेको प्रथम गाँउपालिकास्तरीय अध्यक्ष तथा उपाध्यक्षकप खेलकुद प्रतियोगितामा हल्दिबारी माविले स्वर्णपदक हात पारेको छ ।
वडा नं २ को हल्दिबारी माविले माध्यमिकतह र आधारभूत दुबै तहमा स्वर्णपदक हात पारेको हो ।

पहिलो पटक आयोजित अध्यक्षकपमा कक्षा ९ देखि १२ र उपाध्यक्षकपमा आधारभूततह कक्षा ६ देखि ८ सम्मका छात्राछात्राले भाग लिएका थिए ।


हल्दिबारी माविले अध्यक्षकप अन्तर्गत माध्यमिक तहमा १० स्वर्ण, ११ रजत र ६ कास्यपदक जितेको छ । हल्दिबारी ३ को लक्ष्मी माविले दोस्रो स्थान हासिल गर्दै ४ स्वर्ण, २ रजत र ७ कास्य पदक हात पारेको छ ।

त्यस्तै, हल्दिबारी ३ को चिल्ड्रेन गार्डेन अंग्रेजी माविले ३ स्वर्ण, ७ रजत र १ कास्य पदक प्राप्त गरी तृतीय स्थान हासिल गरेको छ ।
अध्यक्षकपमा आयोजक जनजागृती माविले ३ स्वर्ण, ३ रजत र ४ कास्यपदक जितेको छ भने पञ्चायत माविले २ स्वर्ण र १ रजत पदक हात पारेको छ ।

त्यस्तै, सिग्मा अंग्रेजी माविले २ स्वर्ण र १ कास्य पदक प्राप्त गरेको छ भने महेन्द्र माविले १ स्वर्ण र १ कास्य पदक हात पारेकोे छ ।

त्यसैगरी, ज्योती अंग्रेजी माविले १ स्वर्णपदक प्राप्त गर्दा बालज्योती अंग्रेजी मावि र सरस्वती माविले १/१ रजत पदक जितेका छन् ।

प्रतियोगितामा सहभागी १३ माविमध्ये गोल्धाप सनसाइन अंग्रेजी मावि, चिल्ड्रेन गार्डेन एकाडेमी र क्यानरी अंग्रेजी मावि पदक विहिन रहे ।

त्यस्तै, आधारभूत तहको उपाध्यक्षकपतर्फ पनि हल्दिबारी माविले ८ स्वर्ण, २ रजत र २ कास्यपदक प्राप्त गरेर प्रथम स्थान हासिल गरेको खेल आयोजक समितिका संयोजक रामबहादुर दाहालले जानकारी दिए ।

त्यस्तै, उपाध्यक्षकपमा सिग्मा अंग्रेजी माविले ३ स्वर्ण पदक हात पार्दै दोस्रो भएको छ भने लक्ष्मी माविले २ स्वर्ण, २ रजत र ५ कास्यपदक जितेर तेस्रो स्थान हासिल गरेको हो ।

प्रतियोगितामा आधारभूत र मावि दुवैतर्फ छात्र छात्राको सहभागिता गराइएको थियो । प्रतियोगितामा फुटबल, भलिबल, एथलेटिक्सलगायतका विद्यामा विद्यार्थीलाई प्रतिष्पर्धा गराइएको थियो ।

प्रतियोगिताको विजेताले ३३ हजार ३३३, दोस्रोले २२ हजार २२२ र तेस्रोले ११ हजार १११ नगद, शिल्ड तथा प्रमाणपत्र प्राप्त गरेका छन् ।

छात्रा फुटबलतर्फको फइनल खेलमा हल्दिबारी माविले प्रथम स्थान हासिल गरेको छ भने सरस्वती माविले दोस्रो स्थान हासिल गरेको छ ।
छात्र फुटबलतर्फ चिल्ड्रेन गार्डेन अंग्रजी माविले टाइब्रेकरमा आयोजक जनजागृती माविलाई पराजित गर्दै प्रथम भएको छ भने आयोजकले दोस्रो स्थानमा चित्त बुझाएको छ ।

त्यस्तै, छात्रातर्फको भलिबल खेलमा जनजागृती मावि प्रथम र बालज्योती मावि दोस्रो भएको छ भने छात्र भलिबलमा सिग्मा अंग्रेजी मावि प्रथम र चिल्ड्रेन गार्डेन अंग्रेजी माविले दोस्रो स्थान हासिल गरेको आयोजक समितिले जनाएको छ ।

प्रतियोगितमा कपर्दी, १ सय देखि ४ सय मिटर दौड, रिले दौड, ट्रिपल जम्प, लङजम्प, हाइजम्प, सटफुट, ज्याम्लीङ थ्रोलगागतका खेल समावेश गरिएको थियो । प्रतियोगिताको उद्घाटन र समापनमा साँस्कृतिक कार्यक्रमसहित कराँते, उसु र योगाभ्यासका खेलहरु प्रदर्शन गरिएको थियो ।

प्रतियोगिताको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधिसभाका सांसद् राजेन्द्र लिङ्देनले गरेका थिए भने समापन प्रदेश सांसद् पूर्णप्रसाद राजवंशीको प्रमुख आतिथ्यमा भएको थियो ।

७ दिन चलेको भव्य प्रतियोगिताको उद्घाटन र समापनका अवसरमा प्रदेश सांसद्, जिल्ला शिक्षा समन्वय इकाईका प्रमुख, गाँउपालिका शिक्षा शाखा प्रमुख, श्रोत व्यक्ति, गाँउपालिकाका अध्यक्ष, प्रमुख प्रशासकिय अधिकृत, कार्यपालिका सदस्य, प्रत्येक वडाका वडाअध्यक्ष, सदस्य तथा विद्यालयका शिक्षक, अभिभावक र विद्यार्थीहरुको उपस्थिति थियो ।

कार्यक्रमको उद्घाटन र समापन दुबैसत्रको सञ्चालन गाँउ शिक्षा समिति संयोजक रामबहादुर दाहालले गरेका थिए भने अध्यक्षता गाँउपालिकाका उपाध्यक्ष डम्बरबहादुर गिरीले गरेका थिए ।

प्रतियोगिताका विजेता र उपविजेता छात्रछात्रालाई समापन कार्यक्रमका अतिथि पूर्णप्रसाद राजवंशी र सभापति गिरीले शिल्ड तथा प्रमाणपत्र प्रदान गरेका थिए । कार्यक्रममा विभिन्न खेल संयोजक शिक्षकहरुलाई प्रमाणपत्र प्रदान गरी सम्मान गरिएको थियो ।

हल्दिबारी गाँउपालिकाले प्रतियोगितालाई गाँउपालिकास्तरीय महोत्सवको रुपमा आयोजना गरेको थियो । गाँउ शिक्षा समिमतिले आयोजना गरेको प्रथम अन्तर विद्यालयस्तरीय अध्यक्ष तथा उपाध्यक्षकप खेलकुद प्रतियोगिता २०७५ फागुन १० गतेदेखि शुरु भई शहिद दिवसको दिन समापन भएको थियो ।