शैक्षिक हड्तालका कारण देशभरका विद्यालयको पठनपाठन प्रभावित

बिद्यालय-कलेज शिक्षा समाचार

काठमाडौँ / नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीनिकट अखिल (क्रान्तिकारी) ले घोषणा गरेको आम शैक्षिक हड्तालका कारण आज देशभरका अधिकांश सामुदायिक र निजी विद्यालयको पठनपाठन प्रभावित भएको छ ।

नेपाल सरकारले विद्यालयमा बन्द, हड्ताल नगर्न विसं २०६८ जेठ ११ मा विद्यालयलाई शान्ति क्षेत्रका रुपमा घोषणा गरेपनि त्यसको पटक–पटक उल्लङ्घन हुँदा पढाइ प्रभावित भइरहेको छ ।

अखिल (क्रान्तिकारी)का कोषाध्यक्ष नरेन्द्र विश्वकर्मालाई यही माघ १७ गते मोरङको विराटनगरमा गिरफ्तार गरिएको विरोधमा शैक्षिक हड्ताल गरिएको सङ्गठनका अध्यक्ष चिरञ्जीवी ढकालले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

एकाएक भएको हड्तालका कारण विद्यालय जान ठिक्क परेका झापा लगायत देशभरका विद्यार्थी बन्दको खबरले विद्यालय जान पाएनन् । कतिपय विद्यालयले भने जोखिम मोलेरै पनि पढाइ सञ्चालन गरिरहेको पाइएको छ ।

हड्ताल भए पनि निजी विद्यालयले त्यस दिनको पनि शुल्क लिन्छन् भने सामुदायिक विद्यालयका शिक्षकको नपढाए पनि तलब पाक्छ ।
राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशन (एन प्याब्सन) का अध्यक्ष ऋतुराज सापकोटाले राजनीतिक मुद्दामा विद्यालय बन्द गरिने संस्कारको अन्त्य नहुनु र सरकारले सुरक्षाको प्रत्याभूति नदिनु दुखद् भएको बताएका छन् ।