क्रिकेट रंगशालाका लागि सहयोग जुटाउन धुर्मुस सुन्तली मलेसियामा

खेलकुद समाचार

झापा /  काठमाडौंको राष्ट्रिय सभा गृहमा घोषणा गरिएको गौतम बुद्ध अन्तर्र्रािष्ट्रय क्रिकेट रंगशाला निर्माणका लागि सहयोग जुटाउन धुर्मुस सुन्तली मलेसिया पुगेका छन् ।

धुर्मुस सुन्तलीले मलेसियामा आफ्नो शानदार प्रस्तुतिले दर्शकको मन जितेका छन् । गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण घोषणा गरेलगत्तै मलेसिया पुगेका हास्य कलाकार सीताराम कट्टेल र कुञ्जना घिमिरेको सांस्कृतिक टोलीलाई मलेसियामा भव्य स्वागत भएको छ ।

टोलीमा चर्चित लोक गायक बद्री पंगेनी, चर्चित गायिका मेलिना राई, चर्चित लोक गायिका सम्झना भण्डारी र कार्यक्रम प्रस्तोता यामजोङ रहेका छन् ।

यी दुई ब्रान्ड एम्बेसडर रहेको सिटी एक्सप्रेसले क्रिकेट रंगशाला निर्माणका लागि मलेसियाका तीन सहरमा ‘सिटी एक्सप्रेस धुर्मुस–सुन्तुली साँझ २०७५’ को आयोजना गरेको छ ।

जसअन्तर्गत क्वालालम्पुरमा पहिलो सो फेब्रुअरी ५ मा डेवान मारियमेनको सिटी सेन्टर र फेब्रुअरी ६ मा पेनाङ एसटी एन्नी चर्चमा सम्पन्न भइसकेको छ । उक्त दुई सोमा धुर्मुस–सुन्तलीले आफ्नो अभिनयमार्फत दर्शकलाई भरपुर मनोरञ्जन दिलाएका छन् ।

उनीहरूसँगै टोलीमा रहेका गायक गायिकाले पनि दर्शकको मन जितेका छन् । अब फेब्रुअरी १० मा क्वालालम्पुर र पेनाङपश्चात् जोहर बारुमा अन्तिम कार्यक्रम हुने टोलीले जनाएको छ ।

झन्डै तीन अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको अन्तराष्ट्रिय रंगशाला निर्माणका लागि मलेसियाबाट राम्रो साथ-सहयोग पाउने धुर्मुस–सुन्तलीले विश्वास लिएका छन् । नेपालखबरको सहयोगमा