‘संघीयतामा विमती राख्ने म मात्र छु होला भनेको त व्यवहारमै खतम गर्ने मन्त्री नै हुनुहुँदोरहेछ’-राजेन्द्र लिङ्देन

राजनीति राष्ट्रिय समाचार

काठमाडौं / राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता तथा सांसद राजेन्द्र लिङ्देनले आफ्नो क्षेत्रका जनतालाई उपेक्षा गर्ने, दुःख दिने काम नगर्न सरकारलाई चेतावनी दिदै आवश्यक परे साच्चै अनसन बस्ने बताएका छन् ।

सांसद लिङदेनले झापा जिल्लामा देशको धेरै बजेट गयो भन्ने प्रचार भएको भन्दै खण्डन गरे । ‘म त्यो निर्वाचन क्षेत्रको प्रतिनिधि हुँ, जहाँ केन्द्रीय तहबाट नयाँ कार्यक्रमका लागि एक रुपैयाँ पनि गएको छैन’ उनले भने, ‘विगतमा सुरु गरेका बहुबवर्षीय योजनाहरु रोक्ने काम भएको छ ।’

कचनाकबल गाउँपालिका लगायतका क्षेत्रमा सञ्चालित बहुवर्षीय योजनाहरु लथालिंग छोडिदा आवागमनमा समेत असुविधा पुगेको उनले बताए ।

त्यसैगरी नेता लिङ्देनले १० लाख माग्दा १ करोड १० लाख पठाएको समेत जानकारी गराएका छन् । राप्रपाका सांसद लिङदेनका अनुसार ‘तराई मधेस समृद्धि कार्यक्रम’ अन्तरगत झापाको केचनाकबल गाउँपालिकामा यस्तो भएको हो ।

उनका अनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सिलिङ पठाएर कार्यक्रम मागेको थियो । गाउँपरिषद्ले योजनाहरु छनोट गरेर पठायो । तर, प्राथमिकताको अन्तिम सूचीमा रहेको कार्यक्रम, जहाँ १० लाख माग गरिएको थियो । मन्त्रालयले १ करोड १० लाख पठायो ।

‘हामीले यस्तो किन भयो भनेर मन्त्रीजीलाई सोध्यौं । गापाले पनि आफ्नो निर्णय स्मरण गरायो । मन्त्रीज्यूले हेर्छु भन्नुभयो । अहिलेसम्म हेर्नु भएन’ राप्रपा सांसद लिङदेनले भने, ‘किन हेर्नु भएन भनेर बुझ्दा कार्यकर्ताको सिफारिसका आधारमा योजना छनेाट भएको रहेछ ।’

उक्त योजनामा १ करोड १० लाख खर्च गर्ने ठाउँ नै नभएको उनको दाबी छ । राप्रपा सांसद लिङदेनले भने, ‘मैले त यो संसदमा संघीयतामा विमती राख्ने म मात्र छु होला भनेको तर संघीयतालाई व्यवहारमै खतम गर्ने मन्त्री नै हुनुहुँदोरहेछ । राष्ट्रिय समाचारबाट