कालिझोडामा जिल्लास्तरीय फुटबल प्रतियोगिता हुने

खेलकुद समाचार स्थानीय

विर्तामोड / ‘परिवर्तनका लागि सँगसँगै’ भन्ने नाराका साथ झापाको मेचीनगर-१२, कालिझोडामा जिल्लास्तरीय फुटबल प्रतियोगिता हुने भएको छ ।

नवकालिका खेल मैदानलाई रङ्गशाला उन्मुख बनाउने तथा फुटबल एकेडेमीको सहयोगार्थ फुटबल प्रतियोगिता सञ्चालन गर्न लागिएको नवकालिका युवा क्लवका सचिव जनक ल्वागुनले जानकारी दिए ।

प्रतियोगिता यही फागुन ७ देखि १४ गतेसम्म ७ दिन मेचीनगर १२ कालिझोडास्थित नवकालिका खेल मैदानमा सञ्चालन हुनेछ ।

प्रतियोगितामा झापा र इलामका ८ टीमको सहभागिता रहने बताइएको छ । प्रतियोगितामा कुन कुन टीम सहभागी हुने तय भइनसकेको आयोजक समितिले जनाएको छ ।

नवकालिका फुटबल एकेडेमीमा हाल ६० जना प्रशिक्षार्थीले फुटबल प्रशिक्षण लिइरहेका छन् । सो एकेडेमीको सहयोगार्थ नवकालिका युवा क्लवको खेलकुद समितिले फुटबल प्रतियोगिता सञ्चालन गर्न लागेको हो ।

आयोजक समितिले ३० गते पत्रकार सम्मेलन गरी प्रतियोगिता सञ्चालनबारे विस्तृत जानकारी गराउने क्लवका सचिव ल्वागुनले बताएका छन् ।